पोखरा,
भाद्र १४ ।
चलचित्र ‘गुञ्जन’को पोखरामा मंगलबारदेखि छायाँकन भइरहेको छ । बिगत दुई दशकदेखि द्वन्द्व निर्देशकका रुपमा सक्रिय अष्ट महर्जनले निर्देशकका रुपमा डेब्यु गरेको यो चलचित्रको पोखराका बिभिन्न स्थानमा छायाँकन भइरहेको हो ।
बिशुद्ध प्रेमकथामा रहेको यही चलचित्रबाट नवयुवा प्रितमराज सेन्चुरीले हिरोका रुपमा डेब्यु गरेका छन् । चलचित्रमा प्रितमराजको जोडीका रुपमा अभिनेत्री सारा श्रीपाली छिन् । बिन्दवासीनी मन्दिरमा शुभमुर्हत गरी सुटिङ सुरु गरिएको चलचित्रमा प्रितमराज र साराका साथमा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकार छन् ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको चलचित्रको छायाँकार राजेश श्रेष्ठ हुन् । ए. एच इन्टरटेन्मेन्टको ब्यानरमा रहेको चलचित्रको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र कल्याण सिंहको सङ्गीत रहेको चलचित्रका गीतको कोरियोग्राफी कविराज गहतराजले गर्ने छन् ।
झण्डै ९० प्रतिशत छायाँकन पोखरामा गरिने चलचित्रको बाँकी सुटिङ काठमाडौंमा गरिने निर्देशक अष्टले जानकारी गराए । ‘गुञ्जन’ फागुन तेस्रो साता प्रदर्शन गर्ने योजना निर्माण पक्षको रहेको छ ।






