चितवन,
भाद्र ९ ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । थुनछेक बहसपछि सोमबार जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनीसँगै सोही अभियोगमा पक्राउ परेका युवराज कँडेल पनि धरौटीमा रिहा भएका छन् । कँडेललाई ३ लाख धरौटीमा रिहा भएका छन् । अर्की अभियुक्त रुकु कार्की साधारण तारेखमा रिहा भएकी छन् ।
अदालतले लामिछाने र कँडेललाई अदालतको अनुमतिबिना देशबाहिर जान नपाउनेसमेत आदेश दिएको छ। यस्तै लामिछानले यो विषयमा कुनै टेलिभिजन कार्यक्रम पनि बनाउन नपाउने अदालतले आदेश दिएको छ ।
२० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको थियो ।






