काठमाडौं,
भाद्र २ ।
चलचित्र ‘लक्का जवान’को मुहूर्त गरिएको छ । हाँस्यकलाकार शिवहरि पौडेलले निर्देशन गर्न लागेको चलचित्र ‘लक्का जवान’को सोमबार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गरेर शुभमुर्हुत गरिएको हो ।
मुर्हूतमा चलचित्रका कलाकार तथा प्राबिधिकको सहभागिता रहेको थियो । बुधबारदेखि काभ्रेबाट छायाँकन सुरु हुने चलचित्रमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता, अनसुया श्रेष्ठ वन्त निर्माता र राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी सहनिर्माताको रुपमा रहेका छन् ।
सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिने बताइएको चलचित्रको प्रस्तुतकर्तामा ध्रुव पन्त छन् । निर्देशक पौडेलसहित चलचित्रमा किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारको अभिनय रहनेछ ।
कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रका गीतमा बाबुल गिरीले सङ्गीत भरेका छन् । मित्र डी. गुरुङको सम्पादन रहने चलचित्रका छायाँकार पुरुषोत प्रधान हुन् ।






