काठमाडौं,
असार १३ ।
सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले आफूहरुले अनुमान गरेझैं एसईईको नतिजा आएको सुनाए । उनले भने, ‘यो नतिजालाई लिएर आश्चर्य मान्नुपर्ने छैन ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विगतमा ग्रेडिङ नहुँदा विद्यार्थीहरुले आत्महत्या गर्ने गरेको भएपनि अहिले ग्रेडिङले त्यस्तो अवस्था नरहेको भन्दै यसलाई सुखद् पक्षको रुपमा लिए । त्यस्तै, उनले कम ग्रेड ल्याउने विद्यार्थीहरु अन्ततः रोजगारीको लागि खाडी मुलुक जाने स्पष्ट पारे ।
त्यस्तै, प्याव्सनका सहअध्यक्ष डीके ढुंगानाले सरकारले मुलुकको शैक्षिक प्रणालीलाई सुधार गर्नेगरि कुनै उल्लेख्य काम नै गर्न नसकेको आरोप लगाए । ‘सरकारले शिक्षा क्षेत्रमा दशकौंदेखि काम गर्दै आएका हामीजस्तो सरोकारवालाहरुको कुरा सुन्नै चाहँदैन । अनि कसरी शिक्षा क्षेत्रको विकास र गुणस्तरीयता कायम हुन्छ’, उनले भने ।
कार्यक्रममा राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले नेपालको मूल नीति राजनीति नै ध्वस्त र विकृत रहेकोले शिक्षाको अवस्था नाजुक रहेको टिप्पणी गरे । ‘राजनीति प्रणाली सप्रियो भने नेपालको शैक्षिक प्रणाली स्वतः सुध्रिन्छ’, केसीले भने ।
केसीले नेपालमा एसईईको कुनै सान्दर्भिकता नै नभएको दाबीगरे । उनले भने, ‘जे रोप्यौं, आज त्यही फलेको छ । शिक्षा आयोग गठन गर्दा नै गलत गरिएको छ ।’






