काठमाडौं,
असार ८ ।
विश्वका विभिन्न मुलुकबीच मौलिक संस्कृती एवम् सङ्गीत आदनप्रदान गर्न फ्रान्समा आयोजित ‘इन्टरनेशनल सोलिडारिटी फेस्टिभल–२०१९’मा मिस मङ्गोल नेपाल जाङमु इन शेर्पाले नेपालको प्रतिनिधित्व गरेकी छन् । महोत्सवमा फ्रान्स, पोल्याण्ड, रोमानिया, युक्रेन, कोलम्बिया, स्पेन, नेपाललगायत विभिन्न मुलुक सहभागी थिए । ‘महोत्सवमा नेपालको प्रस्तुतिलाई विश्वभरका सहभागीले प्रशंसा गरेको छ’, जाङमुले भनिन्, ‘यो मेरो लागिमात्र नभएर नेपाल र नेपालीका लागि गौरवको विषय हो ।’
जुन १४ देखि २१ सम्म फ्रान्सको टौलसमा भएको महोत्सवमा जाङमुले गुरुङ जातिको मौलिक पहिरनमा ‘सुन्दर मेरो देश’ बोलको राष्ट्रिय भावको गीतमा नृत्य गरेकी थिइन् । दिवस गिरीको कोरियोग्राफीमा नृत्य गरेकी उनलाई विश्वमा अन्य मुलुकका सहभागीले प्रशंसा गरेका थिए ।
दिवस नेपालमा चिनिएका कोरियोग्राफर हुन् । उनले बुगीवुगी, छमछमीजस्ता चर्चित डान्स रियालिटी सोमा कोरियोग्राफी गरीसकेका छन् । ‘देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय मञ्चमा उभिन पाउँदा गौरव महसुस भएको छ’, जाङमुले भनिन् ।
मिस मङ्गोल नेपाल-२०१८ को उपाधि जितेपछि जाङमु सामाजिक काममा पनि व्यस्त छिन् । फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पासँग सहकार्य गरी मिस मङ्गोल छात्रवृत्ति कोष स्थापना गरेर आर्थिक अभावले विद्यालय जान नपाएका असहाय बालबालिकाको शिक्षाका लागि उनी काम गरीरहेकी छन् ।
इन्टरनेशनल सोलिडारिटी फेस्टिभलका साथै युरोपका विभिन्न मुलुकमा कोषको सहयोगार्थ आयोजना हुने विभिन्न कार्यक्रममा पनि उनी सहभागी हुने छिन् । फ्रान्सपछि जुन २२ देखि २४ सम्म पोर्चुगल, जुन २५ देखि २९ सम्म बेल्जियमका विभिन्न शहरमा मिस मङ्गोल छात्रवृत्ति कोषका लागि आयोजित कार्यक्रममा उनी सहभागी हुने छिन् ।






