काठमाडौं,
जेठ ७ ।
चलचित्र निर्माता सङ्घ र लुम्बिनी जनेरल इन्स्योरेन्सबीच सम्झौता भएको छ । ‘चलचित्र प्रोजेक्ट बीमा’ नाम दिइएको यो सम्झौतामा निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी र लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीइओ एनपी प्रधानले सम्झौता गरेका हुन् ।
निर्माता सङ्घको स्विकृती पश्चात निर्माताहरुले चलचित्रको छायाँकन अगाडि यो बीमा गर्न पाउने बताइएको छ । निर्माताले चलचित्र विकास बोर्डमा आफ्नो चलचित्र दर्ता गर्दा भरेको लागत विवरणको एक प्रतिशत रकम बीमा कम्पनीलाई वुझाउनुपर्ने हुन्छ ।
उक्त एक प्रतिशत रकमको पाँच प्रतिशत रकम इन्सुरेन्स कम्पनीले निर्माता सङ्घमा वुझाउनुपर्ने छ । चलचित्र छायाँकनको क्रममा हुने हानीको बीमा कम्पनीले एक महिना भित्र भुक्तानी गर्ने सीइओ प्रधानले जानकारी गराए ।
यो बीमा गर्नका लागि निर्मातालाई कुनै करकाप भने छैन । कुनै निर्माताले दुर्घटना बीमा मात्र गर्न पनि पाउने तथा प्रोजेक्ट बीमा गर्न चाहेमा दुर्घटना बीमा गर्नुनपर्ने बताइएको छ ।






