काठमाडौं,
चैत्र १७ ।
स्थापनाको दुई दशकपछि नयाँ व्यवस्थापनका साथमा सञ्चालनमा आएको ठमेलस्थित पोखरा दोहोरी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो योगदान दिएका लोकप्रिय लोक स्रष्टाहरुलाई सम्मान गरेको छ ।
दोहोरी नाचघरमा आयोजना गरिएको एक विशेष समारोहमा नाचघरका सुचित्रा घिमिरे तथा सुमी श्रेष्ठले लोक स्रष्टाहरुलाई सम्मान गरेका हुन् ।
समारोहमा लामो समयदेखि लोक गीत सङ्गीत क्षेत्रमा रही नेपाली लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन सफल चर्चित गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, गायिका बिमाकुमारी दुरा, गायक राजु परियार, रेशम थापा, खुमन अधिकारी, गायिका मञ्जु पौडेल, सञ्चारकर्मी अनुसा पौडेल, गायक तथा सञ्चारकर्मी कृष्ण कंडेल, नृत्य निर्देशक उदिराम खड्का, शिव हमाल, बाबुराम बोहरालाई लोक सङ्गीत बिकासमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले बताए ।
उक्त अवसरमा पोखरा दोहोरी नाचघरले नै सुरु गरेको पोखरा थकाली भान्छाघरको वरिष्ठ कलाकार नारायण रायमाझी तथा बिमाकुमारी दुराले रिबन काटेर उद्घाटन गरेका थिए । एउटै स्थानमा दिउसोको समयमा थकाली परिकारमा मज्जा लिन सकिने र रात्रीकालिन समयमा दोहरी तथा नृत्यको मज्जा लिन सकिने आयोजकले जनाको छ ।
दुई दर्जन कलाकारहरुको दैनिक गायन र नृत्य रहने उक्त नाचघरमा लोक गायनमा सक्रिय रहेका धेरै चर्चित कलाकारहरुले दैनिक लोक भाकाहरु प्रस्तुत गर्ने कलाकार संयोजक छबी खड्काले जनाकारी गराए ।






