सन्तोषलाई ‘सेलिब्रेटी सम्मान’

काठमाडौं,
चैत्र ४ ।

सेलिब्रेटी समाज नेपालले थुप्रै अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भएर नेपालको नाम राख्न सफल भएका अन्तर्राष्ट्रिय धावक सन्तोष राईलाई ‘सेलिब्रेटी सम्मान’ प्रदान गरेको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै धावक सन्तोष राईलाई सम्मान गरिएको हो ।

राई नेपालको चर्चित दौड नेवाः च्यारिटीको धरान रनका संस्थापक हुन् । हरेक वर्ष फेब्रुअरीमा हुने धरान रन सन् २०११ बाट सुरु भएर अहिलेसम्म निरन्तर चलिरहेको छ । मुकुन्द हरि श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कीर्तिमानी खेलाडी दीपक बिष्ट, खेलाडी दीपक श्रेष्ठ, कलाकार सुनिल थापा, चलचित्र निर्देशक मिलन च्यास, चलचित्रकर्मी राजकुमार राई लगायत थुप्रै सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यो समाजले आगामी नयाँ वर्ष २०७६ सालमा हङकङमा वृहत ‘सेलिब्रेटी अफ दि इयर २०७५७६’ को आयोजना गर्ने घोषणा गरिसकेको छ ।

सेलिब्रेटी समाज नेपालका तर्फ बाट जनक दीप पराजुलीले स्वागत मन्तब्य राखेर सुरु भएको कार्यक्रम सेलिब्रेटी नेपाल समाजका संस्थापक ज्योतिराज राइले समापन गरेका थिए । नरेश भट्टराईले कार्यक्रम सञ्चालनको जिम्मेवारी सम्हालेका थिए ।

सन्तोष राई आफैं चर्चित अन्तर्राष्ट्रिय धावक पनि हुन् । उनले सन् २००९ देखि निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दौडहरुमा सहभागी भइरहेका छन् । हालसालै मात्र जापानमा भएको टोकियो म्याराथन २०१९ मा ३,८००० सहभागीहरुमध्येबाट उत्कृष्ट ७०० पर्न सफल भई मेडलसमेत प्राप्त गर्न सफल भएका थिए ।

स्वास्थ्य नै जीवन हो र मानिस स्वस्थ रहनका लागि दौडनुपर्छ भन्ने सन्देशका लागि नेपालका तर्फबाट खेलकुद विधा अँगालेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याएकाले सेलिब्रेटी समाज नेपालले उनलाई ‘सेलिब्रेटी सम्मान २०७५’ प्रदान गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार