काठमाडौं,
माघ २१ ।
संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डितले भ्रष्टाचारको सामाजिक प्रभाव चित्रण गरिएको फिल्म ‘सयकडा दश’लाई राष्ट्रिय फिल्म भन्न सकिने तर्क पेश गरे । चलचित्र हेरेपछि मन्त्री पण्डितले विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताको आधारमा राष्ट्रिय चलचित्र तय गरिनुपर्ने बताए ।
चलचित्रलाई मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीले हेरेका थिए ।
चलचित्र हेरिरहँदा पटक-पटक रोएको बताउँदै उनले युवाले उक्त चलचित्र एकपटक हेर्नैपर्ने सुझाए । ‘यसको सन्देश प्रभावशाली मात्रै छैन, सरकारलाई घच्घचाउने खालको समेत छ’ उनले भने, ‘भ्रष्टाचार रोक्नका लागि चलचित्रले भनेजस्तै सरकार कटिबद्ध छ ।’
उनले छेवैमा उभिएका अभिनेता एवम् राजाराम पौडेलको अभिनयको खुलेर प्रशंसा गरे । चलचित्रमा पौडेल एक भ्रष्ट सरकारी अधिकृतको भूमिकामा प्रस्तुत छन् । मुख्य सचिव रेग्मीले चलचित्र समसामयिक र सन्देशमुलक रहेको भन्दै संक्षिप्त प्रतिक्रिया दिए ।
अख्तियार पूर्वप्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि चलचित्र सशक्त माध्यम भएको बताए । ‘सयकडा दश भ्रष्टाचार नियन्त्रण र सदाचार समाज बनाउनका लागि एउटा आदर्श हो’ उनले भने, ‘सरकार मात्र हैन, नागरिक समेत यसतर्फ चेतनशिल हुनु जरुरी छ ।’
शुक्रबार रिलिज भएको रामशरण पाठक निर्देशित चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठलगायतको अभिनय रहेकोछ । चलचित्र राम्रो व्यापार गरिरहेको निर्मात्री रज्जु प्रधानले बताइन् । दर्शन नेपाल क्रिएसनले निर्माण गरेको चलचित्रलाई गतसाता थाइल्यान्ड र म्यानमारमा प्रदर्शन गरिएको थियो ।






