रामकृष्ण बान्तावको ‘आमालाई चिठ्ठी’

काठमाडौं,
माघ १६ ।

साहित्यकार रामकृष्ण बान्ताव हङकङेली नेपाली डायास्पोराबाट एउटा भीमकाय संभवतः नेपाली साहित्यकै अहिलेसम्मकै ठूलो ११ सय अठ्चालीस पृष्ठको उपन्यास ‘आमालाई चिठ्ठी’ लिएर देखा परेका छन् । उपन्यास नेपाली वाङ्मय परिषद्द्वारा हालै राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरे ।

कुलपति उप्रेतीले बान्तवाको उपन्यास नेपाली साहित्यकै एक महत्वपूर्ण प्राप्ति भएको विचार व्यक्त गरे । उनले भने, ‘नेपाली साहित्यलाई समृद्ध बनाउन डायास्पोराको ठूलो योगदान छ ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले बान्तवा फरक ढङ्गले चिन्तन गर्ने स्रष्टा भएको उल्लेख गर्दै उनको उपन्यासले इतिहास रच्ने दाबी गरे ।

डा. विष्णु राईले ‘आमालाई चिठ्ठी’ अहिलेसम्मकै नयाँ शैलीको भएको बताए भने सञ्चारकर्मी तथा उपन्यासकार अखण्ड भण्डारीले ‘यथार्थभित्र कल्पना र कल्पनाभित्र यथार्थ’ उपन्यासको विशेषता भएको जिकिर गरे ।

गीतकार तथा संस्कृतिविद् शुभ मुकारुङले डायास्पोराबाट साहित्य सेवा गरिरहेका बान्तवाजस्ता स्रष्टालाई मातृभूमिले प्रोत्साहित र कदर गर्नु पर्ने धारण राखे ।

पुस्तक गोदावरी बुक हाउसले छापेको हो । खोटाङमा जन्मिएका स्रष्टा बान्तवाका हालसम्म ६ उपन्यास, २ नाटक, १ गीत र १ कविताका पुस्तक प्रकाशित छन् भने ३ वटा गीति एल्बम निस्केका छन् ।

यसमा तपाइको मत

अन्य समाचार