काठमाडौं,
पौष २९ ।
गायक तथा सङ्गीतकार सुनिल पाण्डेले नयाँ गीत ‘आँपे’ लिएर स्रोता/दर्शकमाझ आएका छन् । सुनिलकै शब्द, सङ्गीत र स्वरमा तयार भएको लोक कमेडी शैलीको ‘आँपे’ बोलको गीत स्रोता/दर्शकमाझ आएको हो ।
प्रस्तुत गीतलाई अमृत ल्वागुनले एरेन्ज गरेका हुन् । दिपेन्द्र तिमल्सीनाको निर्देशनमा तयार भएको भिडियोमा सुजन श्रेष्ठ, हेरुका लामा, निशा लमा, नवराज भट्टराईलगायत कलाकारले अभिनय गरेका छन् ।
भिडियोमा गायक सुनिल पनि चित्रित छन् । प्रेम लामा र राज सिग्देलले छायाङ्कन गरेको गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
यसअघि चलचित्र रोमियोमा समावेश ‘ल्याङल्याङ’ गीतबाट सफलता पाइसकेका सुनिल यस गीतलाई पनि दर्शकले रुचाउने कुरामा विश्वस्त छन् । उनी भन्छन्, ‘लोकलय मनपराउने ट्रेन्ड चलेका बेला यो गीत पनि दर्शकका लागी नौलो स्वाद हुन सक्छ ।’ सुनिल मकवानपुरमा रहेर सङ्गीतसाधना गरिरहेका छन् ।






