नयाँ दिल्ली
पौष ७ ।
भारतको राजधानी नयाँ दिल्लीमा हेयर स्टाइलिष्ट निल डेभिड कटुवाल पुरस्कृत भएका छन् । निल एन्टी करप्सन फाउन्डेशन भारतले नयाँ दिल्लीस्थित कर्नाल हरियाना विवान रिसोर्टमा आयोजना गरेको कार्यक्रममा एसिया प्राइड अवार्डबाट उलाई पुरस्कृत गरिएको हो ।
बलिउड अभिनेता राजा मुरादको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निललाई मुरादले पुरस्कृत गरेका थिए । कार्यक्रममा विभिन्न देशका फेशन, व्यापार, समाजसेवालगायतका क्षेत्रमा आबद्व देश विदेशका २५ व्यक्तित्वलाई पुरस्कृत गरिएको थियो ।
फाउन्डेशनका अध्यक्ष नरेन्द्र अरोराले निलले झापाको लक्ष्मीपुरजस्तो सानो गाउँ, जहाँ विजुलीको समेत अभाव थियो । त्यहाँको युवाले उच्च दर्जा नहुने र नेपाली समाजले सजिलै स्वीकार नगरेको कपाल काट्ने पेशालाई अङ्गालेर फेशनको दुनियाँमा तहल्का मचाएकाले अवार्ड प्रदान गरिएको बताए ।
निलले दिल्ली, लण्डन र सिङ्गापुरमा गएर विभिन्न हेयर स्टाइलिष्टसँग हेयर स्टायलका बारेमा अध्ययन गरेका थिए भने अष्ट्रेलियामा २५ सय डलर तलब सुविधा हुने सुनौलो अवसर छोडी नेपालमै आएर हेयर स्टाइलिष्टको काम शुरु गरेका थिए ।
उनले काठमाडौंमै पहिलोपटक अत्याधुनिक सेवार सुविधासहित युनिसेक्स सलुन सञ्चालनमा ल्याएपछि यो क्षेत्रमा क्रान्ति नै आएको थियो । हाल नेपालका विभिन्न स्थानसहित भारतमा विभिन्न क्षेत्रमा समेत उनको लोकप्रियता र सैलुन विस्तार भएको छ ।






