दशैँ उत्सव

– अशोक धनञ्जय 

दशैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भए तापनि पहिलो ९ दिनलाई नवरात्रि र दशौं दिनलाई दशमी वा दशैं भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्रीरामचन्द्रले रावणलाई बध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी (कालरात्रि), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरु हुन् ।

घटस्थापना
आश्विन शुक्लपक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी–देवतालाई आह्वान गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धिपश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशैं घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।

माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको हो । त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरुपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा–आजा गरिन्छ । ब्रह्मर्वैवत पुराणअनुसार वर्णन गरिएका नवदिग्दुर्गाहरु यी हुन्ः प्रकति–पूर्व, चण्डिका–आग्नेय, भद्रकाली–दक्षिण, सर्वमङ्गला–वायव्य, वैष्णवी–उत्तर, शिवप्रिया–ईशान, जगदम्बिका–जल, थल र आकाश । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री यी नामहरुले देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृतिअनुसार घट कलशमै सम्पूर्ण देवी–देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवम् तीर्थहरु निहित छन्, जुन कुरा कालिका पुराण ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिह्नहरुद्वारा समाहित गरिएको पाइन्छ । आधारहरुको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम् नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो ।
यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरुका घरघरमा र देवीका मन्दिरहरुमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरु, घण्टी आदि बजाई दुर्गासप्तशती (चण्डी), स्त्रोत्र रत्नावली, कालिका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ ।

प्रमुख पूजा र उत्सव
सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवम् दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरुको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजासामग्रीस्वरुप फूलपाती प्रवेश गराउने कार्य हुन्छ । यस दिन काठमाडौंको टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरुप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरुलाई पूजी प्रत्येकको नौवटाका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कातिर्की देवीलाई एक एक गरी आह्वान गरेर सोह्र सामग्रीले पूजिन्छ । अर्काे यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवम् श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेषगरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै, यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडाँैको जमलमा ल्याई बढाइँ साथ हनुमानढोका दरबारमा भित्र्याइन्छ ।

महाअष्टमी
नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली)को विशेष पूजा–आजा गरिन्छ । देवीभागवत्अनुसार प्राचीनकालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी–शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । यी दिनहरुमा मानिसहरु आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् ।
साकाहारीहरुले नरिवल, कुभिण्डो, केरा, घिरौँला आदि फल अर्पण गर्दछन् । काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणका लागि खुल्ला रहन्छ । यसै दिन दशैंघर (हनुमानढोका) को मूलचोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन् ।

महानवमी
नवरात्रिको नवौं दिन विशेषगरी महालक्ष्मी देवीको पूजा–आजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरु तथा सवारीका साधनहरु आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरु पूजाको अतिरिक्त विशेषगरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरुको पनि पूजाआजा गरिन्छ ।

विजयादशमी
नवरात्रिको दशौं दिनलाई विजयादशमी भनिन्छ । आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भनिन्छ । दशमी तिथिको निर्धारण गर्दा नवमीले युक्त दशमी मान्य हुन्छ, एकादशीसहितको दशमी मान्य हुँदैन भनिएको छ । मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्छ, जुन मुहूर्तलाई कसैले आठौं मुहूर्त मानेका छन् । कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन् । तर, विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ ।

यस दिनमा भगवान् रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । सोह्र सामग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरुलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ । यति गर्नाले कसैले पनि आफू माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छकँर्दै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ‘आवाहनं नजानामि नजानामि विर्जसनम् । पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।’ अनि घरका मूल मान्छेले भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंका लागि तयार पारी राखिएको नयाँ लुगा ललगाई टीका लगाउन जान्छन् ।

टीका लगाउँदा दिने आशिषः–
आयु द्रोण सुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, एश्वर्य नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे
सत्यंच कुन्तीसुत, विज्ञानं विदुरे
भवन्तु भावतां कीर्तीश्व नारायणे ।
(ऋषि द्रोणाचार्यका पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो शत्रुहरण क्षमता होस्, नहुषको जस्तो ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो सान र मान होस्, सूर्यपुत्र कर्णझैँ दानी स्वभाव होस्, भीमसेनको जस्तो बल होस्, युधिष्ठिरको जस्तो सत्यवचन होस्, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति छाओस् ।)
दशैँमा पुरुषलाई दिइने आशीर्वाद हो यो । महिलाका लागि भने देवी स्वरुप बन्नु भन्ने कामना गर्दै आर्शीवाद दिने चलन छ –
जयन्ती मंगलाकाली
भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवरात्रि
स्वाहा स्वधा नमोस्तुते ।
(संसारलाई नै जित्न सक्ने सामथ्र्य राख्ने देवीझैँ जसले हरेक अन्धकारमा ज्योति छर्न सक्छिन्, हरेक दुःख निदान गर्ने समयभन्दा बलवान देवी, जसले मानव खप्परको माला लगाउँछिन्, त्यस्ती देवीलाई नमन गर्दछु ।)
टीका लगाउने र आशीर्वाद लिने काम कहीँ पूर्णिमासम्म भएको पाइन्छ भने कहीँ दशमीको दिनमा मात्र । यसपछि देवीका मूर्तिहरु र नवपत्रिकालाई बाजा–गाजा या वैद्विक मन्त्र पढी जलाशयमा लगी विसर्जन गरिन्छ  ।

टीकाको साईत
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साईत कात्तिक २ गते ९ बजेर ५१ मिनेटमा रहेकोे जनाएकोे छ । बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताएका छन् । त्यस्तैगरी, घटस्थापनाको शुभ साईत असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा रहेको छ भने फूलपाती भित्र्याउने उत्तम साईत बिहान ९ बजेर २१ मिनेटमा रहेको छ । कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ । सरकारी कार्यालय, सुरक्षा निकाय, कूटनीतिक नियोगहरुमा फूलपातीका दिन बिहान १० बजेर २४ मिनेटमा पश्चिम फर्केर राष्ट्रिय झण्डा फेर्न सकिने गौतमले बताएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार