अस्करका लागि पञ्चायत छनौट

काठमाडौं,
आश्विन ४ ।

एकेडेमी अफ मोशन पिक्चर आटर््स एण्ड साइन्सेस्द्वारा सन् २०१९ मा घोषणा गरिने ९१औं एकेडेमी अवार्ड (द अस्कर अवार्ड)मा विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधाका लागि पञ्चायत छनोट भएको छ । प्रतिस्पर्धीका लागि चलचित्रहरू ‘तान्द्रो’, ‘पञ्चायत’ र ‘माइ लभ प्रोमिश फर काठमाडौं’ले दर्ता गराएकामा निर्णयक मण्डलले यो वर्षका लागि ‘पञ्चायत’लाई छनोट गरेको हो ।

द अस्कर अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)द्वारा चलचित्र ‘पञ्चायत’लाई छनौट गरिएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएको छ । छनौट समितिमा संयोजक बिमल पौडेल र सदस्यमा प्रदीपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामीप्यराज तीमल्सेना, लोकेन्द्र पराजुली (कपील) र चिरञ्जीवी गुरागाइ रहेका थिए ।

ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पञ्चायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । ‘पञ्चायत’ले विभिन्न देशमा प्रदर्शन र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी भएर अवार्ड समेत चुम्न सफल भएको छ । ‘पञ्चायत’मा सरोज खनाल र निता ढुङगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय रहेको छ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको ‘पञ्चायत’लाई गणेश गिरीको प्रस्तुतिमा निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् ।टंक बुढाथोकीको सङ्गीत र रामेश्वर कार्कीको छायाँकन रहेको ‘पञ्चायत’लाई विपिन मल्लले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार