काठमाडौं,
भाद्र २७ ।
चलचित्रत्र अमेरिकन बाबु मेड इन नेपालको न्यूयोर्कमा प्रिमियर गरिएको छ । बिदेशमा बस्ने नेपालीहरूको कथामा आधारित यो नेपाली चलचित्रको न्यूयोर्क बाट शुभारम्भ भएको हो । न्युयोर्कमा नेपाली चलचित्रको पहिलो पटक रेड कार्पेट प्रिमियर सहित दुइ शो भएको थियो ।
कलाकार तथा प्राविधिकहरु कार्यक्रममा आउनको लागि विशेष प्रकारको ठुलो लिमो कारको व्यवस्था गरिएको उक्त प्रिमियर शोमा निर्देशक इश्वर थापाले रेडकार्पेट मा दर्शक तथा आगन्तुक पाहुनालाइ स्वागत गरेका थिए । प्रिमियरमा विशेष अतिथिका रुपमा निम्त्याइएका नेपाल सरकारका वाणिज्यदूत कृषु क्षेत्रीले चलचित्रले अमेरिकामा रहेका नेपालीहरुको यथार्थ चित्रण गरेको टिप्पणी गरे । चलचित्र अमेरिकामा बस्ने नेपालीहरूले भोगेका बास्तबिक गतिबिधिहरूलाई कथामा समेटेर बनाईएको छ ।
अमेरिकालगायत बिदेशमा बस्ने नेपालीहरूको बास्तबिकतामा आधारित भएकोले न्यूयोर्कमा भएको पहिलो प्रिमियर शो मा दर्शकहरूले चलचित्र प्रति सन्तुष्ट भई राम्रो भएको प्रतिकृया दिएका छन् । यस चलचित्रमा प्रायः अमेरिकामै बसोबास गरिरहेका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा, प्रियंका एर पुष्कर बराललगायतका कलाकारहरुको अभिनय रहेको छ भने पटकथा संबाद लेखन क्यानडा निवासी सुरेन्द्र नकर्मीले गरेका छन् । क्यानाडावासी इश्वर थापाले सम्पादन तथा निर्देशन गरेका छन् ।
ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि चलचित्रको निर्मातामा राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेती रहेका छन् । चलचित्रका गीतमा ओम कर्माचार्य र बाबु बोगटीको सङ्गीत रहेको छ । त्यसैगरी जगदिश समाल मगर, बाबु बोगटी, अन्जना गुरुङ, सविता स्रेष्ठ र मिलन अमात्यको स्वर रहेकोछ । डाईरेक्टर अफ सिनेमाटोग्राफिमा शम्भु मोक्तान रहेका छन् ।
चलचित्र तीन महिना पछि नेपालमा प्रदर्शन गरिने बताइएको छ । यसका साथसाथै ड्रिम्सगेटले निकट भबिष्यमा ईश्वर थापाकै निर्देशनमा अर्को चलचित्र ‘बुलेटप्रुफ शेर्पा’ छिट्टै निर्माण गर्ने घोषणा समेत गरेका छन् ।






