काठमाडौं,
श्रावण २५ ।
४६ औं अन्तर्राष्ट्रिय सांस्कृतिक मेला २०१८मा नेपाली कलाको प्रदर्शन भएको छ । जुलाई १३ देखि अगष्ट २७ सम्म आयोजना हुने मेलाका लागि २० जना कलाकारहरुको एक जम्बो टोली अहिले फ्रान्स पुगेको हो ।
‘नेपाल लोक तथा साँस्कृतिक प्रतिष्ठानको’ नेतृत्वमा कलाकार टोली फ्रान्स पुगेको हो । यो टोलीले फ्रान्सको मोन्तुवा, लुप्युभिले, पेल्तानलगायतका केही स्थानमा कार्यक्रम सम्पन्न गरिसकेका छन् । विश्वब्यापी कार्यक्रम अन्तर्गत यूरोप पुगेको यो टोलीले फ्रान्स पछि टर्की, बेल्जियमलगायतका देशको बिभिन्न शहरमा कार्यक्रम गर्नेछ ।
लोप हुनलागेका कला, संस्कृति, भेषभुषा, परम्परा, लोकगीत, लोकबाजा आदिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम लिएर कलाकार सहित युरोप पुगेको कार्यक्रम संयोजक तथा नेपाल लोक तथा साँस्कृतिक प्रतिस्ठान’का अध्यक्ष जोगेन्द्र केसीले बताए ।
बिश्वका २२ देशका कलाकार सहभागी यो फेष्टिभल फ्रान्स, बेल्जियम, टर्किका बिभिन्न शहरमा आयोजना हुनेछ ।
नेपालबाट सहभागी कलाकार टोलीका संयोजक जोगेन्द्र केसी, कार्यक्रमको सल्लाहाकार सङ्गीतकार सुरेश अधिकारी, कार्यक्रमका प्रमुख गायक शिवराज पौडेल रहेका छन् ।
अन्य कलाकार नृत्य निर्देशक भूवनदास श्रेष्ठ, निरिपध्वज खत्री, सारदश्वती शर्मा, नृत्य निर्देशक छेडुप लामा, गायक तथा मोडल पिएन सापकोटा, मोडल पुर्णिमा श्रेष्ठ, माधवप्रसाद त्रिपाठी, ‘लेट मी डान्स् सिजन–२’की विजेता खिमा काउचा मगर, न्हुछेराजा मुनिकार, दीपक श्रेष्ठ, सृर्जना आले मगर, सुनिता परियार, सन्तोष कुमार कार्की, दावा स्याङ्वो लामा तामाङ, धावा वाङ्देल, शर्मिला तामाङ, गोमा सुवेदी रहेका छन् ।
कार्यक्रममा पुर्वको हापारे, अरुण उपत्यकाको गीत सङ्गीत, मध्यमाञ्चलको घासे भाका, नेवारी, काठे भाका, पश्चिमाञ्चलको सालैजो, कौरा, मध्यपश्चिमाञ्चलको टप्पा, ठाडो भाका, मारुनी, सुदुर पश्चिमाञ्चलको देउडा, ठाडी भाकाको साथमा थारु, धिमे, लाखे, सेलो, कुमारी, मन्जु श्री, झाँक्रीलगायतका गीत तथा नृत्य प्रस्तुत गरिने कार्यक्रमका संयोजक केसीले जानकारी दिए ।






