काठमाडौं,
श्रावण २० ।
चलचित्र तुँवालोको प्रिमियर शो बाल्टिमोरमा हुने भएको छ । चलचित्रका निर्माता एवम् कलाकार समेत रहेका गिरीप्रसाद सुनारका अनुसार यही अगष्ट १९ तारिख आइतवार साँझ ७ बजे बाल्टिमोरको बेलेर रोडस्थित होराइजन सिनेमा हलमा तुँवालोको पहिलो प्रिमियर शो गर्न लागिएको हो ।
सामाजिक विषय वस्तुमा आधारित यो चलचित्रमा सुशील क्षेत्री, पुजा पराजुली, रामेश आब्जु, सुरेन्द्र बराल, गिरीप्रसाद सुनार, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनयरहेको छ ।
रमेश आब्जुको कथा, लुम्बिनी मेकरको प्रस्तुति र जीएस मुभी मेकर्सको निर्माण रहेको तुँवालो विशुद्ध विभेदभित्रको विभेदको विषय समेटिएको चलचित्र भएको निर्माता सुनारले बताए । ‘सामाजिक विकृति र विभेदका विरुद्ध चलचित्र मार्फत सन्देश दिनु चलचित्र निर्माणको उद्देश्य हो, जुन कुरामा हाम्रा कलाकारहरुले मेहनेत गर्नु भएको छ’ सुनारले भने ।
चलचित्रको प्रिमियर शोको आयोजना नासो कम्युनिटी र नेपाल अमेरिका फिल्म सोसाइटीलगायतका संस्थाले गर्न लागेका हुन् । नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्माका अनुसार सामाजिक विकृति र विसङ्गतीका विरुद्ध नासोले आफ्ना गतिविधि जारी राखेको हुँदा नासोको उद्देश्य अनुरुपको चलचित्रको कथावस्तु भएकोले नासोलगायत अन्य संघ, संथाको आयोजनामा यो चलचित्रको प्रिमियर शोको आयोजना गर्न लागिएको हो ।
सुनारको संवाद एवम् गौतम सिंह र सुनारको संयुक्त पटकथा रहेको तुवाँलोको छायांकन र निर्देशन दीपक परियार र शेरबहादुर बरालले गरेका छन् ।






