निर्माताले तीन महिनापछि मात्र रियल टाइम डाटा हेर्न पाउने

काठमाडौं,
श्रावण १८ ।

बक्सअफिसको नियामक निकाय नेपाल चलचित्र विकास बोर्डले आगामी तीन महिनाभित्रमा चलचित्रकर्मीले रियल टाइम डाटा कलेक्सन हेर्न पाउने बताएको छ । बिहीबार चलचित्र पत्रकार संघले आयाजना गरेको ‘बक्स अफिस कार्यान्वयनका चुनौती’ शीर्षकमा भएको छलफलमा चलचित्र विकास बार्डकी अध्यक्ष निकिता पौडेलले केही प्राविधिक समस्याका कारण रियल टाइममा रिपोर्ट हेर्न त्यति समय लाग्ने बताइन् । ‘सफ्टवेयरको समस्या सुल्झिसकेको छ । अब हलको व्यवस्थापनको पाटोमा केही समस्या देखा परेका छन् जुन सुल्झन समय लाग्न सक्छ । सायद अबको तीन महिनामा हामीले हिसाब किताब दुरुस्त भेट्छौं,’ पौडेलले भनिन् । विकास बोर्डका बक्सअफिस कन्सल्ट्यान्ट मनिष पण्डितले अहिले १ घन्टा ढिला गरी रिपोर्ट आइरहेको बताए ।

‘अहिले हामी डाटा चेक गरिरहेका छौं । डाटा मात्र पाउनुभन्दा पनि सही डाटा पाउनु ठूलो कुरा हो । अहिले यसमा काम भइरहेको छ । पहिलो हप्ता केही समस्या थियो तर अब छैन । तर अबको तीन महिना अगाबै हामी रियल टाइम डाटा उपलब्ध गराउँछौं,’ उनले भने ।

बहसमा बक्सअफिस लागू भएपछि रिलिज भएको चलचित्रका निर्माता, निर्देशक पनि सहभागी थिए । दुई साताअघि रिलिज भएको ‘भैरे’ चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहराले बक्सअफिस लागू भएपछि पनि दर्शकले फर्जी टिकट काटेर हलमा प्रवेश गरेको फेला पारेको बताए । जवाफस्वरुप बोर्ड अध्यक्ष पौडेलले अनौपचारिक रुपमा यो समस्याका बारेमा जानकारी भए पनि सम्बन्धित पक्षबाट लिखित उजुरी नआउँदा कारबाही गर्न अप्ठेरो परेको बताइन् ।

‘सरकारी कामको आफ्नै प्रक्रिया हुन्छ । बेलैमा त्यो प्रक्रिया पूरा नहुँदा ठूला हलमा टिकटको केही समस्या आयो । हामी त्यसलाई मिलाउने प्रयास गरिरहेका छौं । नचाहँदा नचाहँदै पनि समय लागिरहेको छ,’ उनले भनिन् ।

छलफलमा सहभागी निर्माताले भने वितरक र बक्स अफिसबाट प्राप्त तथ्याङ्कमै एकरुपता नभएको पनि गुनासो गरेका थिए ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बोर्डले तीन हप्ताको समय माग गरेकाले देखिएका समस्यामाथि प्रतिक्रिया नजनाएको बताए । ‘मिडियामा आएका कुरामा हामीले पनि चासो राखिराखेका छौं । तर बोर्डले हामीलाई तीन हप्ताको समय दिनुस् भन्नुभएको छ । त्यो समयसीमा पूरा भएपछि निर्माता संघ पनि सक्रिय हुन्छ,’ अधिकारीले भने, ‘निर्माताले पनि १ हप्ता अगाडि नै सेन्सर गरेर आफ्नो चलचित्र रजिस्ट्रर गर्न भनिरहेका छौं । यही मञ्चबाट म निर्मातालाई पनि योे प्रक्रियामा जानकार रहन अनुरोध गर्दछु ।’ निर्मातालाई बक्सअफिसका विषयमा आवश्यक जानकारी दिन ‘ओरिएन्टेसन कक्षा’को तयारी गरिरहेको समेत उनले बताए । ‘हामी काउन्सिल डेस्क राख्ने विषयमा पनि छलफल चलाइराखेका छौं,’ उनले भने ।

चलचित्र संघका अध्यक्ष प्रदीप उदयले भने नेपालमा लागू भएको बक्स अफिस विश्वमै सरकारका तर्फबाट लागेको पहिलो बक्स अफिस भएको बताउँदै नियत सफा नभएसम्म सानातिना समस्या आइरहने बताए । ‘धेरै साथीहरूले हलमा मात्रै समस्या छ भन्ने हिसाबले आफ्नो कुरा राख्नु भयो, त्यो सही हैन । नेपालमा नीतिको कुरा मात्र गरेर हुन्न । व्यवहारिक छ कि छैन भन्ने कुरा पनि हेर्नुपर्छ,’ उदयले भने, ‘नेपालको त्यस्ता ठाउँमा पनि हल छन् जहाँ फोन इन्टरनेटको सुविधा छैन । अब यस्तो ठाउँबाट हिसाब तुरुन्तै आएन भनेर कचकच गर्नु राम्रो होइन । बक्स अफिसको सुरुवात भएको छ । यो आउनेबित्तिकै पूर्ण हुन्छ भन्ने नठानौं ।’

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाको सभापतित्वमा भएको बहसको सहजिकरण महासचिव अनिल यादवले गरेका थिए ।

नेपाली चलचित्र निर्माणको ५२ वर्षपछि सरकारले गत साउन १ गतेबाट उपत्यकामा बक्स अफिस प्रणाली लागू भएको घोषणा गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार