सिनेमाघरमा लम्फूसँगै मनाङ्गे नानी र हिरोज

काठमाडौं,
वैशाख २८ ।

शुक्रवार प्रदर्शन अन्तर्गत आजदेखि सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । आज देखि प्रदर्शनमा आएका चलचित्र हुन् लम्फू, मनाङ्गे नानी र हिरोज ।

गीतसङ्गीत र ट्रेलरका कारण अन्य दुई चलचित्रभन्दा ‘लम्फू’ दर्शकमाझ प्रतिक्षीत थियो । चलचित्र सेन्सर बोर्डबाट जुनसुकै वर्गका दर्शकले हेर्न पाउने ‘यूनिभर्सल सर्टिफिकेट’ प्राप्त यस चलचित्रबाट नव–नायक कबिर खड्काले डेब्यु गरेका छन् ।

‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जालगायतको अभिनय रहेको छ ।

लम्फूमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको छ । गोपालचन्द्र लामिछाने निर्देशित यस चलचित्रलाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

आजबाट सिनेमाघरमा आएको एनबी महर्जनको निर्देशन रहेको चलचित्र ‘हिरोज’ले बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक विकृति, अन्याय विरुद्धको आवाज र प्रेमकथा प्रस्तुत गरेको छ । चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पुर्णिमा लामा, मुकेश ढकाललगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्र अभिनेत्री पुर्णिमा लामाले निर्माण गरेकी हुन् ।

यस्तै, यी दुई चलचित्रसँगै आज देखि प्रदर्शनमा आएको खुसबहादुर गुरुङ निर्देशित चलचित्र ‘मनाङ्गे नानी’ मा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, खुसी गुरुङलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार