काठमाडौं,
माघ २० ।
चलचित्र ‘नालापानी’को यतिवेला कार्यशाला भइरहेको छ । ऐतिहासिक कथा वस्तुमा बन्ने घोषणा गरिएको चलचित्र ‘नालापानी’को यतिवेला कार्यशाला भइरहेको हो ।
अंग्रेजसँगको युद्धका बेला गोर्खाली सेनाले नालापानीमा गर्विलो इतिहास राखेका थिए । हाल भारतको देहरादुनमा पर्ने नालापानीको रक्षार्थ गोर्खा सेनाको कमान्ड बलभद्र कुँवरले सम्हालेका थिए । अंग्रेजले पानीसमेत रोकिदिएर गोर्खालीलाई उक्त स्थान छोड्न बाध्य पारेको इतिहासमा पढ्न पाइन्छ । अब उक्त इतिहासलाई हेर्नसमेत पाइने भएको छ । प्राध्यापक रामराजा कुँवर र डा. धनबहादुर कुँवरले संयुक्त रूपमा लेखेको पुस्तक ‘वीर बलभद्र कुँवर’ मा आधारित भई निर्देशक रिमेश अधिकारीले ‘नालापानी’ चलचित्र बनाउन लागेका हुन् ।
गोर्खाली सेनाको अदम्य साहसलाई दर्साउने उक्त नालापानी लडाइँको वीरतालाई पस्कने गरी निर्देशक रिमेशले नेपाली सेनाका जवानलाई नै चलचित्रमा खेलाउने तयारी गरेका छन् । यसका लागि उनले केही नेपाली सेनालाई अडिसन लिइसकेका छन् । चलचित्रमा लडाइँका दृश्य धेरै र महत्त्वपूर्ण हुने भएकोले कलाकारका रूपमा दक्ष योद्धा नै आवश्यक देखेर सेनाका जवानलाई नै अडिसन लिइएको निर्देशक अधिकारीले बताए ।
‘सामान्य कलाकारलाई लडाकुका रूपमा तयार पार्न समय धेरै लाग्ने र रणकौशलको दक्षता नहुने भएकोले पनि नेपाल आर्मीका जवानलाई नै बरु अभिनय सिकाउँदा सहज हुने ठान्यौं,’ निर्देशक अधिकारीले भने । उनले युद्धका दृश्यलाई भरसक सजीव बनाउने प्रयास रहनेमा जोड दिए । यतिवेला चलचित्रको कार्यशाला भइरहेको उनले बताए ।
यो चलचित्रलाई नेपाली सेनाले पुराना हतियार, तोप, सैनिक, कलाकार, सैनिक नियम तथा सैनिक नियमका लागि प्रशिक्षक सहयोग गरेको छ ।
निर्माता मनोज शाक्यले नेपाली चलचित्रको इतिहासको एउटा गर्व गर्न लायक बिषय समेटर चलचित्र बनाउन लागेको बताए । यो चलचित्रमा अर्जुनजंग शाही, नवल खड्का, मनोज शाक्य, पूजना प्रधान, इशान विजु श्रेष्ठ, विशाल श्रेष्ठ, गीता अधिकारीलगायतको मुख्य भूमिका रहनेछ ।
सम्राट शाक्य कार्यकारी निर्देशक रहेको यो चलचित्रमा आशिष रेग्मीको पटकथा तथा संवाद, रोशन श्रेष्ठको एक्सन रहने निर्माणपक्षले जनाएको छ । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।






