काठमाडौं,
माघ १७ ।
चलचित्र ‘फल्ट’ बन्ने भएको छ । इञ्जोय मुभिजको व्यानरमा नयाँ चलचित्र ‘फल्ट’ घोषणा गरिएपछि यो चलचित्र बन्ने भएको हो ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा चलचित्रका निर्देशक सुवास जिसीले चलचित्रले समाजमा आपूmलाई सभ्य भन्ने व्यक्तिले नकारात्मक काम गर्दा त्यसले समाजमा पार्ने प्रभावलाई विषयबस्तु बनाएको बताए ।
चलचित्रमा सन्तोष काफ्ले निर्माता छन् । चलचित्रलाई शुभकामना दिँदै पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङले नेपाली राजनीति जस्तै चलचित्र क्षेत्रमा पनि हुने उतारचढावलाई आफूले नजिकबाट नियाल्ने गरेको बताए । पूर्वसभामुख नेम्बाङले नेपाली कलाकारले विदेश चलचित्रमा कमाएको ख्यातीबाट आफू परिचित रहेको बताउँदै पाकिस्तानको कराँची जाँदा त्यहाँ शिव श्रेष्ठको पोष्टर देख्न पाउँदा खुशी भएको खुलाए ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गर्ने किसिमका चलचित्र बनिरहेका बेला चलचित्र ‘फल्ट’ले त्यही बाटोलाई समात्नेमा आफू ढुक्क रहेको बताए । कार्यक्रममा प्रहरी अतिरिक्त नायब महानिरिक्षक सुदीप आचार्यले पनि शुभकामना दिएका थिए ।
चलचित्रमा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेल प्रमुख भूमिकामा छन् । फागुनको पहिलो साताबाट फ्लोरमा जाने चलचित्रमा सन्तोष काफ्लेको कथा, सुवास जिसीको पटकथा तथा संवाद, बसन्त सापकोटाको सङ्गीत, विश्व देवकोटाको गीत र बासु बरालको छायांकन हुनेछ । इलाम, झापा, मोरङ र काठमाडौंमा छायांकन हुने चलचित्र २०७५ को वैशाख तेस्रो साता रिलिज हुने निर्माण पक्षले जनाएको छ ।






