माघ चारमा हुने ‘वेस्मा लाङयोक–२’को तयारी

काठमाडौं,
पौष २२ ।

‘वेस्मा लाङ्योक–२’ अर्थात् फरक बाटाको दोस्रो संस्करण यो आउँदो ४ माघमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । अहिले यसको तयारी धमाधम भइरहेको आयोजकले जनाएको छ ।

याक्थुङ हाक्पारे पालम सयङ र राष्ट्रिय नाचघर आयोजक रहेको यस विशेष सांस्कृतिक कार्यक्रमका लागि ‘सङ्गीत संयोजन बरिष्ठ सङ्गीतकार तथा प्राज्ञ अशोक लोहरुङ राई ‘अन्तरा साङ्गीतिक समूह’ले गरिरहेका छन् ।

कार्यक्रममा दुई दर्जनभन्दा बढी लिम्बू समुदायकका चर्चित गायक÷गायिकाले अशोकद्वारा सङ्गीतबद्ध लिम्बू भाषाका गीतसङ्गीत प्रस्तुत गर्दैछन् भने दर्जन कलाकारले नृत्य, केलाङ, धाननाचलगायत प्रस्तुत गर्नेछन् ।

कार्यक्रमका लागि अहिले रिर्हलन भइरहेको याक्थुङ हाक्पारे पालम सयङका महासचिव सैलेन्द्र थेबेले बताए । उनका अनुसार गायनका लागि रिर्हलस बागबजारमा सङ्गीतकार अशोकले गराइरहेका छन् । त्यस्तै, नृत्यको रिर्हसल राजधानीको रातोपुलस्थित रक हाउस क्याफेमा भइरहेको छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउने तयारी भइरहेको सङ्गीत संयोजक समेत रहेका अशोकले बताए ।

गत वर्षबाट यो कार्यक्रम राजधानीमा सुरु गरिएको हो । लिम्बू गीतसङ्गीत तथा कला र संस्कृतिको प्रवद्र्धन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको सयङकी अध्यक्ष रुपा आङबुहाङले बताइन् ।

कार्यक्रममा यसपटक संजय तुम्रोक, कुशल थलङ, सुसन साम्सोहाङ, पदम राई, निर्मल सुब्बा, मोहन मादेन, भीमप्रसाद तुम्बाहाम्फे, गोविन्द चेम्जोङ, देशु सुहाङ, कमला आङ्बुङ, सिता सिंगक, प्रकृति थलङ, श्रेयसी चेम्जोङ, निशा लिम्बू, जनुरानी चेम्जोङलगायतका गायक/गायिकाले लिम्बू गीतसङ्गीत प्रस्तुत गर्दैछन् ।

त्यस्तै, बबिता फोम्बो, निशा पोमु, लक्ष्मी योङहाङ, खुश्बु चेम्जोङ, गीता राई विमला खजुम, मेनुका सावदेन, भीम थेबे, विशाल सेनेहाङ, उदय बेघा, विवेक बेघा, संगीता आँखेवा, सन्तोष लिम्बू, सागर खजुम, केशर निङलेखुलगायतका कलाकारले नृत्य प्रस्तुत गर्ने भएका छन् । कार्यक्रममा हुक्पा चोङबाङ कल्याण समिति केलाङ समूह र काठमाडौं याक्थुङ केलाङ सयङको पनि विशेष प्रस्तुती रहने सैलेन्द्रले बताए । उनका अनुसार कार्यक्रमका लागि ७५ प्रतिशत तयारी पूरा भएको छ ।

लिम्बू समुदायको कला, संस्कृति र रहन–सहन झल्किने एक विशेष सांस्कृति कार्यक्रम हो, ‘वेस्मा लाङ्योक’ ।

यसमा तपाइको मत

अन्य समाचार