‘गोरे’ एक्शन, रोमान्टिक एवम् मनोरञ्जनात्मक चलचित्र हो– निर्देशक रामेशकुमार राई

पछिल्लो समयमा के गर्दै हुनुहुन्छ ?
यो शुक्रबारदेखि देशभरका सिनेमाहलहरुमा मैले निर्देशन गरेको चलचित्र ‘गोरे’ प्रदर्शनमा आउँदै छ । अहिले यही चलचित्रका बारेमा आम दर्शकलाई जानकारी गराउने उद्देश्यले विभिन्न क्रियाकलापमा संलग्न छु । म र मेरो टिम यसैको प्रचार प्रसारमा छौ यतिवेला । अनि एउटा चलचित्रकर्मी भएकाले यसै सँग सम्बन्धित कामहरुमा नै मेरा दैनिकीहरु चलिरहेका छन् । एउटा अर्को चलचित्रको वर्कसपको काम पनि भइरहेको छ यतिवेला ।

तपाईं निर्देशित चलचित्र ‘गोरे’ कस्तो चलचित्र हो ?
मेरो मान्यता के हो भने चलचित्र भनेको मनोरञ्जन सँगसँगै केही सन्देशमुलक पनि होस् भन्ने हो । हामीले चलचित्र ‘गोरे’लाई पनि विशुद्ध मनोरञ्जनात्मक चलचित्र बनाएका छौ । मैले माथि भने जस्तै केही सन्देश पनि दिन खोजेका छौ यो चलचित्र मार्फत । ‘गोरे’मा प्रेम छ, रोमान्स छ र एक्सन पनि । या भनौ यो एउटा व्यवसायिक चलचित्र हो । ‘गोरे’ एक्शन, रोमान्टिक एवम् समसामयिक विषयवस्तुमा आधारित मनोरञ्जनात्मक चलचित्र हो ।

कतिको आशावादी हुनुहुन्छ यो चलचित्रबाट ?
यहि मंसिर २९ गते अर्थात शुत्रबारबाट प्रर्दशनमा आउने चलचित्र गोरेका हामीले सार्वजनिक गरेका प्रचार सामाग्री जस्तै प्रोमो, गीतलाई दर्शकले अत्याधिक मन पराइदिनु भएको छ । यसबाट आम दर्शकमा यो चलचित्रप्रति कौतुहल्ता रहेको पाएका छौ । ‘गोरे’को सम्पूर्ण टिमले निकै मिहिनेत गरेको छ एउटा राम्रो नेपाली चलचित्र बनाउँनका लागि । राम्रो कामको पक्कै पनि राम्रै अपेक्षा हुन्छ, होइन र ? अनि हामी आशावादी न हुने त कुरै भएन । यो क्षेत्रमा एक्शन नायकको खडेरी परिरहेको बेला चलचित्र ‘गोरे’ मार्फत एक्शन नायकको उदय हुने भएको छ । मार्शल आर्ट ताईक्वाण्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका राकेशकुमार राई यो चलचित्र मार्फत आउँदैछन् । उनको दमदार एक्शन भूमिका रहेको छ चलचित्रमा । त्यस्तै दिलिप रायमाझी, अनु शाह, रबिन्द्र आचार्य, खुश्बु खड्का, बिमला गिरी, सुरवीर पण्डित, ममता शर्मा, सूर्य जि.सि.को साथमा नवप्रस्तुती राकेशकुमार राई, डा.गुन्नु घर्ति, अभिषेक गिरीलगायतका कलाकारको दमदार अभिनय रहेको छ ।
जि.एस. मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता सूर्य जिसि हुन भने रुपा जिसि चलचित्रको निर्मात्री रहेकी छन् । यो सबै टिमले राम्रो चलचित्र निर्माण गरेको छ र हामी सबै आशावादी पनि छौ हामीलाई माया गर्नुहुनेछ आम दर्शकले भन्नेमा ।

कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा र कसरी आउनु भयो ?
अलि लामो समय व्यतित गरे जस्तो लाग्छ । ०५८/०५९ सालदेखि निरन्तर छु यो क्षेत्रमा । यो क्षेत्रमा आउन मलाई एउटा घटनाले प्रेरित ग¥यो । अलि विगत तिर जानु पर्ला यसका लागि । म मध्यम बर्गीय परिवारमा जन्मिए । मेरो पालन पोषणा र शिक्षा गाउँको सरकारी स्कुलमा भयो । अलि सानै देखि नयाँ कुरा सिक्ने कुराले लोभ्याउँथ्यो मलाई । यसैक्रममा मेरो घरमा एउटा असामान्य कुरा भयो । अर्थमा कि मेरो घरको परिवारको कोही पनि सिनेमामा छैनन् । तर, अचानक मेरो दाजु हिरो बन्न भनेर गाउँकै एकजना साथीसँग घरबाट भागे मुम्वई जानुभयो । मुम्बई सिनेमाको महासागर हो । कुनै पहुँच न कुनै पशिक्षण हार खाएर २ वर्ष पछि जानु घर फर्किनुभयो । उहाँसँग जानु भएको साथीले चाहीँ त्यहाँ सिनेमातिर असिस्टेन्ट गर्न लाग्नुभएछ । हामी स्कुलमै थियौ । मसँग कुराकानी भइ राख्थ्यो पत्र मार्फत । म लेख्न रुचाउँने मान्छे । विस्तारै स्कुल सकियो । यसैबी मुम्बइबाट फिल्म बनाउने भनेर आउनुभयो । उहाँ अहिले स्थापित निर्देशकका रुपमा नेपाली फिल्ममा काम गर्दै हुनुहुन्छ । निर्देशक गोविन गौतम । उहाँसगै मैले यस क्षेत्रमा श्रीगणेश गरे साहायक निर्देशकको रुपमा विस्तारै निरन्तरता बढ्दै गयो भनौ ।

तपाईंको अर्को चलचित्र ‘जुनी’ को अहिले के हुँदैछ ?
‘जुनी’को सम्पूर्ण काम सकिएको छ । यो चलचित्र पनि प्रदर्शनको प्रतिक्षामा रहेको छ । हामीले अघिल्लो महिना नै यसको छायाँकन सकाएका हौ ।

पछिल्लो समयमा एक पछि अर्को चलचित्रमा ब्यस्त हुनुहुन्छ नि, कस्तो लाग्छ ?
खुशी लाग्छ म सिनेमा नै ब्यस्त छु । या भनौ म अली भाग्यमानी छु की । चलचित्र जुनी मेरो आगामी आउने चलचित्र हो भने छिट्टै नै अर्को एउटा चलचित्रको छायाँकनका लागि तयारी भइरहेको छ । अहिले यसको टाइटन चाहिँ न भनि हालौ होला । तपाईंहरु सबैलाई राखेर हामी यसको सार्वजनिक गर्दै छौ । गोप्य राख्नु पर्ने त छैन तर कार्यक्रमनै गरेर घोषणा गर्ने हाम्रो योजना छ । त्यस पछि म अर्को चलचित्रको स्क्रिप्टमा पनि छु । यसको पनि वैशाखदेखि छायाँकन गर्ने कुरा भइरहेको छ ।

निर्देशन गर्न कतिको गाह्रो काम हो ?
निर्देशन भनेको चलचित्रको टिम क्याप्टेन हो । एउटा राम्रो चलचित्र बन्नका लागि सम्पूर्ण टिमको उतिकै मिहिनेत जरुरी हुन्छ । तर, पनि के हो भने टिम क्याप्टेन भए पछि उसले सबै कुरालाई ध्यान दिनु जरुरी हुन्छ । निर्देशकसँग प्रशस्त तत सम्बन्धि ज्ञान र अनुभव हुनुपर्छ भन्ने लाग्छ मलाई एक्सन कट मात्र निर्देशन होइन ।

निर्देशन के हो ?
एउटा मुक कथालाई जिवन्त बनाउने शैली हो निर्देशन । यसभित्र थुप्रै पाटाहरुका रहेका हुन्छन् । तथापी कुनै पनि कथालाई बस्तु परक ढङ्गले पात्रहरुद्वारा जिवन्तता दिन सक्नु निर्देशन हो । एउटा राम्रो निर्देशकभित्र नयाँ नयाँ कुरा दिन सक्ने खुबी हुनुपर्छ । नवीन कला हुनु पर्छ ।

नेपाली चलचित्रको अहिलेको अवस्था कस्तो छ ?
पहिले भन्दा सुधारिएर गएको महशुस गर्छु म । सिनेमा पनि स्तरिय बन्नेक्रम बढेको छ । निक्कै सृजनशिल कामहरु थालेका छन् अहिले । नेपाली चलचित्रको बजार पनि विस्तार भइरहेको छ । अहिले देश मात्र होइन विदेशमा पनि नेपाली चलचित्रप्रतिको लगाव बढेर गएको छ । यो सुखदपक्ष हो ।

नेपाली चलचित्रको स्तरबृद्धिका लागि के–कस्ता पहल हुन आवश्यक देख्नुहुन्छ ?
हामीले चलचित्रको लागी प्रयास गर्नेकुरा छदैछ, गरिनै रहेका छौ । तर, यसको लागि सरकारी स्तरबाट पनि प्रयास गरिनुपर्छ भन्ने लाग्छ । नत्र सधै कुन्नी खै के ताप्के नताती विण ताते जस्तै हुन्छ । साथै हामीले गुणस्तरिय चलचित्र दिनसक्नु पर्छ । दर्शकलाई झुक्याउन सकिदैन आजभोली । उहाँहरु हामीभन्दा एक कदम अगाडि सोचिरहनु भएको हुन्छ । गुणस्तरिय चलचित्र र यसको उचित्र व्यवस्थापन हुन गयो भने हाम्रा चलचित्रको सफलतालाई कसैले रोक्न सक्दैन ।

अन्त्यमा,
मेरो निर्देशनमा तयार भएको चलचित्र ‘गोरे’ यही मंसिर २९ अर्थात यो शुक्रबारदेखि देशभकार सिनेमाघरहरुमा आउँदै छ । आम दर्शकलाई आफूलाई पायक पर्ने सिनेमाघरमा गएर चलचित्र हेरि प्रतिक्रिया जनाउँनुहुन तपाईंको यो लोकप्रिय सञ्चारमाध्यम मार्फत आग्रह गर्न चाहन्छु । मेरा केही कुरा र प्रदर्शनमा आउन लागेको चलचित्रका केही कुरा राख्न दिनुभएकोमा मिलाप मासिक र मिलाप न्युज डटकमलाई धेरै धेरै धन्यवाद ।

यसमा तपाइको मत

अन्य समाचार