काठमाडौं,
कात्तिक ९ ।
साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ । पहिलो खेलमै साविक उपविजेता सुदूरपश्चिम रोयल्समाथि सात विकेटको जित हात पारेको हो ।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले तीन विकेटको क्षतिमा १० औँ ओभरमा पूरा गर्यो । लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४० रनको योगदान गर्नुभयो । शर्टले चार चौका र तीन छक्काको मद्दतमा टोलीलाई जित नजिक पुर्याएर आउट हुनुभयो ।
आसिफ शेख टोलीलाई ६ रन आवश्यक पर्दा ३२ रनमा आउट हुनुभयो । अर्को ओभरमा निरोशन डिकवेला व्यक्तिगत सात रन बनाउँदा दीपेन्द्रको बलमा बोल्ड हुनुभयो । शामिम हुसेन एक र कप्तान रोहित पौडेल पाँच रनमा अविजित रहनुभयो ।
तेस्रो संस्करणको उद्घाटन खेलमा दोस्रो सिजनको फाइनल खेलेका टोली मात्रै भिडेनन् नतिजा पनि सोही किसिमको दोहोरियो । अघिल्लो सिजनको फाइनलमा पनि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लुम्बिनीले ६६ बल बाँकी हुँदै चार विकेट गुमाएर उपाधि उचालेको थियो ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका किशोर महतो र शेर मल्लले सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्नुभयो । सुदूरपश्चिमलाई पूरै ओभर टिक्न नदिन किशोर महतोले चार विकेट लिँदा शेर मल्लले तीन विकेट हात पार्नुभयो । महतोले २८ र मल्लले समान ४ ओभरमा ११ रन खर्चिनुभयो ।
साड्ली भान स्कालविक, तिलक भण्डारी र रोहित पौडेलले समान एक विकेट लिनुभयो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २७ रनको योगदान दिँदा २३ बलमा दुई चौका प्रहार गर्नुभयो ।
ओपनर सैफ जैवले १३ रन बनाए पनि अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । विनोद भण्डारीले नौ र इशान पाण्डेले सात रन बनाउनुभयो ।
एनपीएलमा मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर खेल्नेछन् ।






