दर्शकमाझ वेब सिरिज ‘तथास्तु’

काठमाडौं,
कात्तिक ८ ।

वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ । के.बी.डिजिटलको युट्युब च्यानलमार्फत सिरिजको ट्रेलर र पहिलो एपिसोड सार्वजनिक गरिएको हो ।

गाउँले परिवेश, युवापुस्ताको उटपट्याङ व्यवहार, रहस्यमय साधु र अनौठो श्रापमा आधारित सिरिजले हास्य तथा भावनात्मक पक्षलाई समेटेको छ । मनोरञ्जनसँगै जीवन, परिवार, मित्रता र समयको महत्त्व उजागर गर्ने लक्ष्य सिरिजले राखेको छ ।

ओरियन पिक्चर्स र फजी फिल्मस्को संयुक्त निर्माणमा बनेको सिरिजको कथा तथा पटकथा शिशिर राणाले लेख्नुभएको हो भने निर्देशन किरण दाहालले गर्नुभएको छ । सिरिजमा अभिषेक फुयाँल, रसल श्रेष्ठ, सुनील तामाङ, तुलसी राय, सबी थापा, लिसा बरनवाल, सिर्जना भुजेल, गीत लिम्बुलगायत कलाकारको अभिनय छ । साथै वरिष्ठ कलाकारहरू नरेन्द्र थापा, श्याम राई, विपना बस्नेत, सन्तु तामाङ, रामकाजी घिमिरे, गीता थापालगातको अभिनय देख्न सकिन्छ यसमा ।

सिरिजमा किरण दाहाल, विवेक मगर र मणिराज पौडेल निर्माता रहनुभएको छ भने बी एण्ड बी टेक तथा हाकिम इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा आबद्ध छन् । विवेक मगर र योदिन योञ्जनले छायांकन गरेको यस सिरिजको शीर्ष गीत हर्क साउदले तयार पार्नुभएको हो भने ब्याकग्राउण्ड स्कोर अनमोल थापाको छ ।

हास्य, भावना र सम्बन्धको महत्त्वलाई मौलिक कथामार्फत प्रस्तुत गरिएको ‘तथास्तु’ले दर्शकलाई मनोरञ्जनसँगै जीवनबारे सोच्न प्रेरित गर्ने निर्माण पक्षको विश्वास छ ।

यसमा तपाइको मत

अन्य समाचार