काठमाडौं,
कात्तिक ९ ।
चलचित्र ‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ । अनमोल केसी स्टारर चलचित्रको ‘अल्लारे ठिटो आयो’ बोलको गीतमा स्वर रुबै र प्रविण बेडुवालको छ । संगीत निर्माण, मिक्सिङ र मास्टरिङ रूप महानताले गर्नुभएको छ ।
सार्वजनिक गीतको भिडियोमा अनमोल र प्रिन्सी खतिवडा फिचर्ड हुनुहुन्छ । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर गीत छायांकन गरिएको छ । भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको केमेस्ट्रि देखाइएको छ ।
भुवन केसीको निर्देशन रहेको ‘बाटुलो जून’ले ३० देखि ४० दशकको नेपाली परिवेशमा आधारित प्रेम कथा पस्कने बताइएको छ ।
राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत समावेश छ । चलचित्र यही कात्तिक २६ गते रिलिज हुँदैछ ।






