काठमाडौं,
मंसिर २३ ।
गायिका प्रकृति थलङले ‘यति मनराउँछु म’ भनेकी छन् । गीतको छायांकन यसै साता हङकङको विभिन्न सुन्दर स्थानहरुमा छायांकन गरिएको हो ।
सुरिलो स्वरकी धनी प्रकृतिले आफ्नो गीतको भिडियोमा मोडलिङ गरेपछि भनिन्, ‘मलाई मोडलिङमा सौख त छैन । तर, हङकङको रमणीय स्थलहरुमा आफ्नो गीतमा अभिनय गर्ने रुचि भने थियो ।’ त्यो रहर र इच्छा उनले हङकङमा आयोजित सांगीतिक कार्यक्रमको दौरानमा पूरा गरेकी हुन् ।
पहिलोपटक साङ्गीतिक कार्यक्रमको सीलसिलामा हङकङ पुगेकी प्रकृतिका लागि यो यात्रा ‘पशुपतिको दर्शन सिद्राको व्यापार’ भनेजस्तै भएको छ । यसका प्रकृति खुसी छिन् । ‘कार्यक्रम पनि राम्रो भयो’ उनले भनिन्, ‘तैमाथि मेरो गीतको भिडियो बन्यो र मैले त्यहाँको सुन्दर दृश्यमा अभिनय गर्ने अवसर मिल्यो ।’
‘यति मनराउँछु म’ गीतको भिडियोलाई युगल पोमुले निर्देशन गरेका हुन् । जो केही समययता हङकङमै बस्दै आएका छन् । नेपालमा रहँदा म्युजिक भिडियो निर्देशनमा निकै व्यस्त रहेका युगल हङकङमा पनि भिडियो निर्माणमै सक्रिय छन् ।
लेकाली कान्छाको शब्दरचना र शंकर थापा ‘स्माइल’को संगीत रहेको ‘यति मनराउँछु म’ गीतमा प्रकृतिलाई स्वरमा रोमन लिम्बूले साथ दिएका छन् । भिडियोमा हङकङमै बस्दै आएका हेमराज अङछोङबो प्रकृतिसँग देखिनेछन् ।
हङकङमा रहेर पनि मोडलिङमा व्यस्त रहँदै आएका हेमराज र प्रकृतिको जोडी यस गीतमा निकै जमेको छ । उनीहरुलाई ललितपुरस्थित तेह्रथुमे ढाका बुटिकले तयार गरेको क्रियटिभ पहिरनमा देखिनेछन् ।
ज्याप स्टुडियोले खिचेको यस तस्बिरहरुमा पनि प्रकृति र हेमराज निकै खुलेका छन् । भिडियो यसै साता हेर्न पाइने गायिका तथा मोडल प्रकृतिले बताइन् । उनले आफ्नो अर्को गीतको पनि चाँडै भिडियो बन्ने बताइन् । उनका अनुसार ‘मेरो मुटु’ बोल गीतको भिडियो चाँडै निर्माण हुँदैछ । जसको पत्रकार एमपी सुब्बाले निर्देशन गर्ने भएका छन् । तर, त्यो भिडियो निर्माणभन्दा पहिलो ‘यति मनराउँछु म’ गीतको भिडियो सार्वजनिक गर्ने प्रकृतिले सुनाइन् ।






