काठमाडौं,
कार्तिक २२ ।
गजल गायक थानेश्वर गौतम ‘पिउने रहर छ’ भन्दै छन् । हालै सार्वजनिक ‘पिउने पनि रहर छ’ गीतको भिडियो मा उनले यसो भनेका हुन् ।
श्याम रेग्मीको शब्दमा तयार भएको गीतमा गायक गौतम आफैँको स्वर र सङ्गीत सुन्न सकिन्छ । रोहित बस्नेतको कोरियोग्राफीमा नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङले गीतको भिडियोमा छमछम नाचेका छन् ।
पछिल्लो समय एकपछि अर्को हिट म्यूजिक भिडियो आफ्नो नाममा दर्ता गराइरहेका रोजल थापा यो भिडियोका निर्देशक हुन् । सुरेश राउतको सम्पादन रहेको भिडियोका छायाँकार रामेश्वर कार्की हुन् । भिडियोमा कतै कतै गायक आफैँ पनि हातमा मद्यिरा बोकेर शराबी शहर बताइरहेका छन् ।
पछिल्लो समय देश तथा विदेशका कन्सर्टहरुमा ब्यस्त गायक गौतमले दर्शक—स्रोतालाई फरक स्वाद दिने उद्देश्यले नयाँ गजल गीत लिएर आएको बताए ।
गौतमका ‘विर्सिएर श्रृगारमा गाजल लगाइनछौं’, ‘स्याङजा गएँ पाल्पा गएँ’, ‘सिन्दुर लाउने हौली माया’, ‘यहाँ यस्तै हुन्छ प्यारी’सँगै चलचित्र ‘रामप्यारी’मा समावेश ‘छमछम ती पाउजुहरु बजाएर नाच’जस्ता गीतले चर्चा पाएका छन् ।






