काठमाडौं,
कार्तिक १५ ।
अभिनेत्री नीता ढुङ्गाना ‘बेष्ट लिडिङ्ग एक्ट्रेस’ घोषित भएकी छन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सन्फ्रान्सिस्को शहरमा आयोजित ‘सान् फ्रान्सिस्को फिल्म फेस्टिभल’मा उनले ‘बेष्ट लिडिङ्ग एक्ट्रेस’को अवार्ड हात पारेकी हुन् ।
उनले ‘बिदेशी भाषी’ बिधा अन्तर्गत चलचित्र ‘पञ्चायत’बाट अवार्ड हात पारेकी हुन् । चलचित्रले ‘बेस्ट मुभीइन फरेन ल्याङ्ग्वेज’ विधामा समेत अवार्ड जितेको छ ।
करिब दुई दर्जन नेपाली चलचित्र अभिनय गरेकी नीता म्युजिक भिडियोको पनि क्वीन हुन् । उनी अभिनित पछिल्ला केही चलचित्रले ब्यवसायिक असफलता हात पारेका छन् । पुराना बिषयबस्तुमा निर्माण भएको चलचित्र ‘पञ्चायत’मा उनले किशोरीको भूमिका निर्बाह गरेकी छन् ।
नेपालमा नेसनल अवार्ड समेत प्राप्त गर्न सफल अभिनेत्री नीता ढुंगाना सानै उमेर देखि अभिनयमा लागेकी नायिका हुन् । हालसम्म झण्डै २ दर्जन चलचित्रमा अभिनय गरिसकेकी उनको चर्चित चलचित्रहरुमा दबाब, ६ एकान ६, नोटबुक, मसान, हाम्रो माया जुनी जुनीलाई, निर्भयलगायत छन् ।
अङ्ग्रेजी चलचित्र बाहेक अन्य विदेशी चलचित्रमा ‘पञ्चायत’ले उत्कृष्ट अवार्ड पाएको हो आफ्नो चलचित्रले अवार्ड पाएकोमा निक्कै खुसी भएको कार्यकारी निर्माता तथा सञ्चारकर्मी रवि अधिकारीले बताए ।
१५ बर्ष अघिबाट सुरु भएको यस फेस्टिबलमा गत वर्षदेखि नेपाली चलचित्रले पनि सहभागी हुन् थालेको साउथ एसियन संयोजक तथा नेपाल पर्यटनबोर्ड सन सनफ्रान्सिस्को लागि पर्यटनदूत प्रकाश थापाले जानकारी दिए । गत वर्ष नेपाली चलचित्र तीन घुम्तीले उत्कृष्ट बिदेशी भाषाको चलचित्र पुरस्कार जित्न सफल भएको थियो ।
फिल्म फेष्टिवलमा हालीवुड र एसियन चलचित्रहरु गरि २ सय चलचित्रले प्रतिस्पर्धा गरेका थिए । ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र ‘पञ्चायत’को लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् ।
गणेश गिरीको प्रस्तुति रहेको चलचित्र ‘पञ्चायत’को निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । चलचित्रमा सरोज खनाल र निता ढुंगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय रहेको छ । अवार्ड प्राप्त चलचित्र चलचित्र ‘पञ्चायत’ आगामी फागुन १७ गतेदेखि देशभर प्रदर्शन हुँदै छ ।






