अभ्यर्थना लिएर आए राजेश

काठमाडौं,
असोज ९ ।

इलामे गायक तथा सङ्गीतकार बीएण्डडी राजेश चाम्लिङले साङ्गीतिक करियरको दोस्रो एल्बम ‘अभ्यर्थना’ श्रोतामाझ ल्याएका छन् । राजधानीमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक, सङ्गीतकार गणेश रसिक, गीतकार अशोक वान्तवा, गायक तथा संगीतकार चाम्लिङलगायतले एल्बम सार्वजनिक गरे ।
सदस्य सचिव रसिकले गायक चाम्लिङका गीतहरु मन छुने किसिमका रहेकाले आम श्रोताले यसलाई मनपराउनेमा विश्वास व्यक्त गरे । ‘पछिल्लो समयमा म्युजिक भिडियो अनिवार्य बनिसकेको छ ।

एल्बममा रहेको गीत अनुसार भिडियो पनि मर्मस्पर्शी लाग्यो,’उनले भने,‘आगामी दिनमा गायकले अझ राम्रा गीतहरु ल्याउनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।’
गायक चाम्लिङले सानैदेखिको सङ्गीत प्रतिको रुची र साङ्गीतिक गुरु दाजु हस्त चाम्लिङको प्रेरणाले संगीत क्षेत्रमा पाइला चालेको बताए । एल्बममा ‘मेरी आमा’, ‘डेटिङ’, ‘प्रस्ताव’ र ‘नजानी नजानी’ बोलका गीत छन् । गीतमा राजेश र सुयर्मा राईको शब्द छ भने डेनी निरौला र राजेशकै सङ्गीत छ । ‘डेटिङ’ बोलको गीतमा गायिका बिना राईले राजेशलाई स्वरमा साथ दिएकी छन् ।

कार्यक्रममा ‘मेरी आमा’ र ‘डेटिङ’ गीतको भिडियो सार्वजनिक गरिएको थियो । भिडियोको निर्देशन भीमबहादुर बम्जन हुन् । भिडियोमा गायक राजेशसहित सुस्मिता बस्नेत र अल इन वान ग्रुपले फिचरिङ गरेका छन् ।
२०५७ सालबाट औपचारिक रुपमा संगीत शुरु गरेका राजेशले २०६८ सालमा पहिलो एल्बम ‘स्पर्ष’ बजारमा ल्याएका थिए । उनले हालसम्म २० वटा गीत लेखन, ६० गीतमा सङ्गीत र ४० वटा गीतमा स्वर दिइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार