काठमाडौं,
भाद्र १३ ।
धरानका रिमेश अधिकारी नेपाली कला क्षेत्रमा निर्माता, निर्देशक र कलाकारका रुपमा चिरपरिचित नाम हो । झापा तोपगाझी मा जन्मिएर हाल धरानमा बस्दै आएका उनी सडक छाप चलचित्रबाट यो क्षेत्रमा होमिएका हुन् । उनले अहिलेसम्म थुप्रै चलचित्र र म्युजिक भिडियोमा काम गरेका छन् । ३ दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेका उनले सानै देखि आफूमा कलाकारिताको नशाका कारण यो क्षेत्रमा होमिएको बताउँछन् । ‘म सानै देखि नृत्य, अभिनय भने पछि हुरुक्क हुन्थे, एसएलसी सकेर राजधानी आए, छ महिना पुनम राईबाट नृत्य सिकेर आए’, उनले भने । सुरुका दिनमा दीलीप रायमाझी, निरुता सिंहजस्ता कलाकारको सङ्गत भएका कारण आफूलाई अझ यो क्षेत्रमा अझ बढी सजिलो भएको बताउँने उनले चलचित्र तस्वीर, बसमा छैन यो मन, म विर्सु कसरी, विरासत, देशले माग्दैन दिनु पर्छ, शहिद मेजर दुर्गा मल्लजस्ता चलचित्र निर्माण गरेका छन् ।
चलचित्र निर्माण, निर्देशन र अभिनयलाई सँगसँगै लगेका उनि यतिवेला ऐतिहासिक कथावस्तुमा आधारित चलचित्र नालापानीको निर्माण र निर्देशनमा जुटेका छन् । ‘मैले हाम्रो भोलीको पुस्तालाई हाम्रा वीर पुर्खाले गौरवपूर्ण लडेको इतिहासलाई चलचित्र मार्फत प्रस्तुत गर्ने जमर्को गरेर नालापानी निर्माण र निर्देशनमा जुटेको हुँ’, उनले भने ।
यो चलचित्रका लागि नालापानीमा नै पुगेर पाँच वर्ष खोज अनुसन्धानपछि निर्माणमा जुटेको बताउँने उनले गत हप्ता राजधानीमा पत्रकार भेटघाट मार्फत चलचित्रको घोषणा गरेका छन् । ‘यो मेरा लागि महत्वकाँक्षी योजना हो, यो चलचित्र बनाएपछि मैले नेपाली अन्य चलचित्रमा खेलेपनि नखेले पनि मेरा लागि सबैभन्दा ठूलो उपल्बिध हुनेछ’, उनले भने । अहिलेसम्मकै नेपाली चलचित्रको लागतमा सर्वाधिक लागत अर्थात ९ करोडलागतमा निर्माणहुने यो चलचित्रमा करिव २ सयजना कलाकार नै रहने उनी बताउँछन् ।

उनको यो अभियान र सोचलाई साकार रुप दिन उनीसँग सहकार्य गर्दैछन् मनोज शाक्य । पाँच वर्षको निरन्तर खोज, अनुसन्धान र विभिन्न व्यक्तित्वहरुको सम्र्पकमा रहँदा यस्तो विषय वस्तुमा फिल्म बनाउने ‘यो पागल भएछ’ भन्नेहरुलाई एउटा शसक्त ऐतिहासिक चलचित्र बनाउनका लागि गत हप्ता राजधानीमा घोषणा भएको दिन आफू औधी खुसी भएको बताउँछन् ।
आगामी माघ महिनादेखि छायाँकनको तयारीमा रहेका उनी नालापानीका सम्पूर्ण अवयवहरुलाई यो चलचित्रमा समेटने तयारीमा रहेकाछन् । ‘नेपाल र नेपालीको चलचित्र नालापानी’ भन्ने घोषणा गरेका उनले यो चलचित्र हामी सबै नेपालीको चलचित्र हो भन्छन् । विगत १५ वर्ष देखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर क्रियाशिल रहेका रिमेशको यो महत्वकांक्षी योजनाले मुर्तरुप पाओस् उनी र चलचित्र निर्माण कम्पनी पदम कुमारी फिल्मस प्रा.लि.लाई शुभकामना ।
के हो नालापानी युद्ध
विश्वलाई आफ्नो कब्जामा पार्ने रणनीतिका साथ अगाडि बढेको अंग्रेज फौजले सगरमाथाको देश एउटा सुन्दर पहाडी राज्य नेपाललाई पनि आफ्नो अधिनस्त बनाउने अभिलाषाका साथ सन् १८१४ बाट नेपालमाथि आक्रमण सुरु भयो । सो समयमा अंग्रेज सेना र नेपाली गोर्खालीहरुबीच विभिन्न ठाउँमा युद्ध शुरु भयो ।
त्यसै मध्येको हाल भारतमा पर्ने देहरादुन स्थिति नालापनी गढीमा भएको युद्ध पनि एक महान् युद्ध हो जहाँ नेपाली फौजका तर्फबाट कप्तानी वीर बलभद्र कुवरले गर्नुभएको थियो ।
आधुनिक हात हतियारले सु–सज्जीत अंग्रेज सेनासँग वीर बलभद्र कुँवरको नेतृत्वमा नेपाली गोर्खाली सेनाका साथ महिला, बालबालिका समेत जम्म छ सय सेनाले घरेलु हतियार भाला, खुकुरी, गुलेली, मट्याङग्रा, घुयत्रो सहतिले साहासिक युद्ध गरेका थिए । सो युद्ध करिब एक महिनासम्म निरन्तर चल्यो र तीन पटकसम्म अंग्रेज फौजले लज्जास्पद हार ब्यहोर्यो । अन्तमा नेपाली फौजसँग कसै गरी पनि युद्ध जित्न नसक्ने निश्चित भए पश्चात बदनियत र छल कपट गरि नेपाली फौजको पानीको मुहान समेत बन्द गरियो ।
चार दिनसम्म पानी सम्म नपिई अंग्रेज सेनासँग युद्ध गर्यो । पानीसम्म पिउन नपाई छटपटिएका आफ्ना सेनालाई बलभद्र कुवरले देखेर आफ्ना सहकर्मीसँग सल्लाह गरी अदम्यका साथ नेपाली सेना नाङ्गो खुकुरी देखाउँदै करिव ७० जनाको समुह अंग्रेजकै अगाडिबाट उनिहरुलाई लल्कारदै स्व ईच्छाले किल्ला छोडि बाहिरियो । नेपाली सेनाले हार स्वीकार नगरी त्यहाँबाट निस्केको हो । तत् पश्च्यात अंग्रेज सेनाले किल्ला प्रवेश गर्यो ।
त्यस किल्लाको विकराल परिस्थिति देखेर नेपालीहरुको वीरता र अध्यम्य साहस र राष्ट्रप्रेमले उच्च मूल्याङ्कन गर्दै सम्भवत पहिलो पटक शत्रुलाई सम्मान गर्दै अंग्रेज सेनाले स्तम्भ निर्माण गरी विश्वमा गोर्खाली नेपाली सेनालाई सबैभन्दा बाहादुरको उपमा सहित सम्मान गरिएको छ ।






