काठमाडौं,
भाद्र ४ ।
लाजिम्पाटस्थित नाचघर रेष्टुरेन्टको एघारौं वार्षिकोत्सव साङ्गीतिक माहोलबीच सम्पन्न भएको छ । कार्यक्रममा गायिका प्रिती आले मगरले ‘बेली डान्स’बोलको आफ्नो यो हिट गीत र ‘चौतारीमा वरपिपल’बोलको लोक पप गीतलगायतका गीत गाएर माहोल तताएकी थिइन । प्रितीले गीतमात्रै गाइनन्, गीतसँगै आफू पनि नाचिन् । त्यसो त उनी मोडल पनि हुन्, आफ्नो भिडियोमा मोडलिङ पनि गरेकी छिन् ।
कार्यक्रममा प्रितीसँगै आधा दर्जनजति कलाकार उपस्थित थिए । कमेडियन, जादुगर र डान्सरका रुपमा परिचित कलाकार महादेव त्रिपाठीले जाँदुसँगै कमेडी र नृत्यको प्याकेज प्रस्तुत गरेर दर्शकलाई लोभ्याए । गायक कृष्ण रेउलेले ‘बेसारे कान्छे’, ‘आज गाउँमा’ बोलका गीत गाए । मोडलद्वय गीता राई र रीमाथापा मगरले नाचेर दर्शकलाई मनोरञ्जन दिलाए । मोडल रश्मी तामाङ समेत कार्यक्रममा सहभागी थिइन् ।
दिनहुँ सांस्कृतिक नृत्यहरु समेत देखाइने भएकाले नाचघर रेष्टुरेन्ट राजधानीको चल्तीको रेष्टुरेन्टमा पर्छ । ‘हामी तामाङ सेलो, झाक्री, देउडा, झ्याउरेलगायतका नृत्यहरु प्रस्तुत गछौं,’ नाचघरका संचालका सुनिल छेवाङ तामाङले भने । उक्त अवसरमा एघारौं वार्षिकोत्सवको केक पनि काटिएको थियो ।






