मौलिक विशेषताको पहिचान गरौं

अर्थशास्त्रको क्षेत्र धेरै व्यापक छ । विज्ञान र प्रविधिमा भएको चमात्कारिक विकासले अर्थशास्त्रको क्षेत्रमा पनि व्यापक क्रान्ति ल्याइदिएको छ । त्यस कारण पुराना अर्थशास्त्रीहरुले गरेका अर्थशास्त्रको परिभाषाले आजको विकसित अर्थशास्त्रको क्षेत्रलाई समेट्न सक्दैन । तर पनि आजका अर्थशास्त्रीहरुले पुराना अर्थशास्त्रको विकास गर्दा पुरानो अर्थशास्त्रको जगमा कहीँ न कहीँ टेक्न आवश्यक हुन्छ ।

अर्थशास्त्रको क्षेत्र यति व्यापक छ कि यसलाई कुनै एक देशको सीमामा कैद राख्न सकिँदैन । यति हुँदाहुँदै पनि सबै देशका आ–आफ्नै आर्थिक, मौलिक विशेषताहरु हुन्छन् । ती आर्थिक, मौलिक विशेषताहरुलाई पहिचान गरेर आर्थिक क्रान्ति सम्पन्न गर्न सकिन्छ । यदि कुनै देशले आफ्नो देशको मौलिक, आर्थिक विशेषतालाई पहिचान गर्न नसकेर अन्य देशको आर्थिक प्रणालीको कोरा नक्कलमात्रै ग¥यो भने त्यो देशमा आर्थिक क्रान्ति हुन असम्भ हुन्छ । नेपाललाई चिन्न सकिएन भने नेपालको अर्थतन्त्रको पहिचान गर्न सकिँदैन । नेपालको मौलिक अर्थतन्त्रको पहिचान गर्न सकिएन भने यहाँ आर्थिक क्रान्ति पनि गर्न सकिँदैन । यो देवभूमि, यो पुण्यभूमि, यो स्तुत्यभूमि, यो स्वर्गभूमि नेपाल यहाँ के कुराको कमी छ ? भूगोलमा सानो भए पनि हिमाल, पहाड र तराईको समिश्रणले बनेको देश भएका कारणले संसारमा पाइने सबै प्रमुख जलवायुको धनी छ नेपाल । यो स्वर्गभूमि संसारमा पाइने प्रमुख जलवायुबाट सिंचित भएकाले विश्वका विभिन्न स्थानमा हुने सबै प्रमुख अन्नबाली, वनस्पति र जीवजन्तु यहाँ पाइन्छ । यहाँका नदी–नाला, भीर–पाखा, छहरा–पहरा र अग्ला–अग्ला हिमशिखरहरु हाम्रा हीरामोतीका भण्डार हुन् । हाम्रो तराईको मैदान अन्नको भण्डार हो, जहाँ अन्नपूर्णको निवास छ । पूर्वको मानेभञ्जाङ्गदेखि पश्चिमको लिम्पिया धुरासम्म र उत्तरको हिमालदेखि दक्षिणको तराईको मैदानसम्म सबै क्षेत्र विश्वमै उत्तम पर्यटन स्थलका रुपमा छन् । उच्च हिमशिखर सगरमाथालगायतका हिमशृङ्खलादेखि भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी, कपिलवस्तु, रामग्राम, देवदहजस्ता थानहरुमा पर्यटनका लागि उपयुक्त वातावरण बनाइदिन सके नेपालको अर्थतन्त्र समृद्ध हुनेछ । यसका अतिरिक्त पाशपत क्षेत्र, रुरु क्षेत्र, जनकपुरधाम, मुक्तिनाथ धाम, बराह क्षेत्र, पाथिभरा, बुढासुब्बा, कालीकोटको मालिका, पश्चिमको खण्डेश्वरीलगायतका हजारौं धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरु नेपालमा छन् । तीर्थपर्यटनका दृष्टिले नेपाल धेरै महत्वपूर्ण छ । सारमा भन्नुपर्दा नेपाल देवालयको देश हो ।
यो युग विज्ञान र प्रविधिको युग हो । त्यस्तै, विनासकारी आणविक र जैविक अस्त्रको युग पनि हो । त्यस कारण मानिसहरु जतिसुकै समृद्ध भए पनि आत्मिक रुपमा वेचैन देखिन्छन् । मान्छेको मन अशान्त र चञ्चल भइरहन्छ । यस्तो अस्थिर चञ्चल अशान्त मन भएको व्यक्तिले नेपालमा प्रवेश गर्नेबित्तिकै शान्तिको महसुस गर्दछ ।

भूगोल, जलवायु, हजारौं धार्मिक र ऐतिहासिक स्थलका साथै प्राकृतिक सौन्दर्यका कारणले मात्रै होइन नेपालमा प्रवेश गर्नेबित्तिकै जो–कोहीले शान्तिको अनुभूति गर्न सक्छ । यहाँका सयौं जातजाति, भाषा–भाषी, धर्म–सम्प्रदाय मान्ने मान्छेहरु आपसमा एउटै परिवारजस्तो गरी मिलेर बसेको देख्दा विकसित देशहरुबाट नेपाल आउने पर्यटकले आश्चर्य मान्छन् । हाम्रो संस्कृति, सामाजिक मर्यादा र भाइचाराको सम्बन्ध देख्दा लोभिने गर्दछन् । यहाँ बसोवास गर्ने सयौं जातजातिका भाषा, संस्कृति, वेश–भुषा, धर्म–परम्पराका कारण नेपाल संसारकै सु–संस्कृत राष्ट्रमा पर्दछ । त्यस कारण यहाँका सबै जातले बोल्ने भाषा, संस्कृति, वेश–भुषा, धर्म, परम्परा नेपालका गौरव हुन् । सनातन परम्पराले विश्वमा नेपालको पहिचान गराउने गरी छुट्टै अस्तित्व राखेको छ । यही सनातन वैदिक परम्परा नेपाली राष्ट्रिय एकताको आधार पनि हो ।

इतिहास, संस्कृति, प्राकृतिक साधन र स्रोतले सम्पन्न हुँदाहुँदै पनि हामी नेपाली किन ‘भिखमङ्गा’ भयौ ? किन हामीले मगन्तेका रुपमा विश्वमा हेपिनु परेको छ । नेपालमा आर्थिक क्रान्ति गर्न सर्वप्रथम उक्त प्रश्नहरुको उत्तर खोज्न आवश्यक छ ।

यसमा तपाइको मत

अन्य समाचार