विकास र समृद्धितर्फ लम्किन सकोस्

हाम्रो नयाँ वर्ष २०७५ को आगमन भएको छ । अघिल्लो वर्षझैँ नयाँ वर्षमा पनि आफ्ना शुभचिन्तकलाई शुभ, सुख र समृद्धिको कामना गरे नेपालीले । हरेक वर्ष नयाँ उत्साह, योजना तथा उमङ्गका साथ नयाँ वर्ष मनाउने गरिन्छ । नयाँ वर्षको शुभकामना दिने माध्यम अलग–अलग भए पनि नयाँ वर्षको शुभकामनाको भाव उस्तै थियो– सुख, शान्ति र समृद्धि ।
नयाँ वर्ष सधैँ वसन्त ऋतृको आगमनसँगै आउने हुँदा प्रकृतिमा एउटा नौलो आभाष आएको अनुभव हुने गर्दछ । वसन्त ऋतृ आगमनसँगै हरियाली आउँछ । यसकारण हाम्रो नयाँ वर्ष पनि अन्यभन्दा अलिक विशेष छ । प्रकृति नै नयाँ भएर आउँछ ।
नेपालीहरुले चार महिनाअघि सन् २०१८ लाई पनि यसरी नै धुमधामसँग मनाएका थिए । पश्चिमी संस्कृतिको हावाले नेपाललाई पनि छोएको छ । त्यसैले पनि नेपालीले २०१८ लाई नयाँ वर्षको रुपमा मनाए ।

वैशाख १ गते राष्ट्रियरुपमा नयाँ वर्ष मनाउने गरिन्छ भने साउन १ गतेबाट नयाँ आर्थिक वर्ष । यसका अलवा हाम्रो देशमा एकै वर्षमा दर्जन नयाँ वर्ष मनाउने गरिन्छ । धार्मिक, वैज्ञानिक, सरकारी र संस्कृतिका दृष्टिले फरक–फरक किसिमका नयाँ वर्ष हामी मनाउँछौ । विभिन्न जात, धर्म, समुदाय, समूह र सम्प्रदायका सम्वत्ले नेपाललाई एकै वर्षमा थुप्रै नयाँ वर्ष दिएको छ ।
विक्रम संवत् २०७५ सुरू भएको छ र २०७४ को समीक्षा पनि सुरू भएको छ यतिबेला । विगतमा घटेका घटनाहरुबाट शिक्षा लिँदै अगाडि बढ्नुपर्छ । नराम्रो कुराको परित्याग र राम्रा कुराको अनुशरण गर्ने बानी बसाल्नुपर्छ । जे–जस्ता घटनाक्रम विगतमा भए पनि हामी जहिल्यै आशा, विश्वास र भरोसा लिएर बाँचेका हुन्छौं । हाम्रो जीवनको आधार सुखद् भविष्यको आशा नै हो । यही सुखद् भविष्यको आशाले अभिव्यक्तिको माध्यम दिने गर्दछ । नयाँ वर्षले सुखद् भविष्यको आशालाई सङ्कल्पमा बदलेर अघि बढ्न सकौं ।

लामो समयको सङ्क्रमणकालपछि देशमा पाँच वर्षका लागि जनताले नयाँ सरकारलाई आफ्नो मत जाहेर गरेका छन् । आर्थिक विकास र समृद्धिको नारा जनतामाझ लगेका वाम गठबन्धनलाई जनताले केन्द्रमा बहुमतको सरकार गठन गर्न आफ्नो मत दिएका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण गर्ने भन्दै यी दुई दल र अन्य दलहरुलाई साथमा लिएर चुनावमा होमिएका थिए ।

गत वर्ष तीनै तहको निर्वाचन सम्पन्न भई स्थानीय तह, प्रदेश र केन्द्रमा आफ्ना प्रतिनिधि पठाएका छन् जनताले । संविधान कार्यान्वयनका सिलसिलामा केही बाँकी रहेका कानुन निर्माण भई यो वर्ष सङ्घीयताले मूर्तरुप लिनेछ ।

यो वर्ष आमनेपाली जनताले चाहेको मुलुक आर्थिक विकास र समृद्धिको दिशमा लम्किन सकोस् । नयाँ वर्षको नयाँ दिनजस्तै वर्षैभरि उमङ्ग छाओस् । आमनेपालीलाई शान्ति र समृद्धि प्राप्ततर्फ अग्रसर होस् । नयाँ वर्ष नयाँ किरण भन्ने कुराको स्मरण पछिसम्म रहोस् । यही कामना । व्यक्ति, समूह, वर्ग र पार्टीभन्दा पनि देशले जित्ने राजनीति हुन सकेमात्र नयाँ वर्षको स्वागतमा गरिएका कामना, बाँडिएका शुभकामना र मनाइएका खुसीयाली सार्थक हुनेछन् ।

यसमा तपाइको मत

अन्य समाचार