काठमाडौं,
श्रावण २३ ।
गायक निर्मल सुब्बा र गायिका लक्ष्मी योङहाङद्वारा गाइएको लिम्बू भाषाको गीतको म्युजिक भिडियोमा मोडलिङ गरेर कलाकार भीम तुम्बाहाङ्फेले आफ्नो अभिनय यात्रा शुरु गरेका छन् ।
पूर्वाञ्चलको ताप्लेजुङमा जन्मेका भीम तुम्बाहाङ्फे सानै देखि अभिनयको क्षेत्रमा केही गर्न चाहन्थे । तर, परिस्थिति त्यतिबेला अनुकूल बनेन । आप्mनो चाहनालाई मनभित्रै लुकाएर उज्वल भविष्यका लागि विदेशीयका भीम तुम्बाहाङ्फे केही दिनको नेपाल बसाईको क्रममा भिडियोमा मोडलिङ गरेर कलाकार बन्ने चाहना पुरा गरेका छन् । हङकङ, जोर्ड्नमा रहँदै आएका कलाकार भीम तुम्बाहाङ्फे भाषिक भिडियोमामात्र होईन सबै खाले भाषा, भाषीको म्युजिक भिडियो होस् वा चलचित्रमा आफ्नो प्रतिभा देखाउन देखाउन आतुर छन् ।
‘तरेमे चासोक तङनाम ओ चुमिरो…..’ बोलको गीतमा शब्द हर्क योङहाङ र संगीत अशोक लोहरुङ राईको रहेको छ । भिडियोमा भीम तुम्बाहाङ्फेलाई गायिका लक्ष्मी योङहाङ र शैलेन्द्र थेबे आदिले अभिनयमा साथ दिएका छन् ।
लिम्बु भाषाको म्युजिक भिडियो भएकोले नृत्य निर्देशन अरुणपूर्व केलाङ समूह र याक्थुङ हाक्पारे पालाम सयङले गरेको हो । भेषभुषा सिक्वेन्स फेसन हाउसले संयोजन गरेको थियो । भिडियोलाई फुर्तिला युवा निर्देशक लोकेन साँवाले निर्देशन गरेका छन् ।






