काठमाडौं,
श्रावण ९ ।
चलचित्र ‘धूम २’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेन्डी फिल्मस् प्रा.लि, जाहन्वी बस्नेत र ब्रबिम बस्नेतको प्रस्तुतीमा निर्माण भएको यो चलचित्रको सिनेमाघरमा आउने समय आगामी भाद्र ८ गतेलाई तय गरिएको छ । जय किशन बस्नेत चलचित्रका नृत्य निर्देशन, लेखक, निर्माता र निर्देशक समेत हुन् । चलचित्रमा उनको मुख्य भूमिका छ । कार्यक्रममा ट्रेलर र चलचित्रका दुई गीत देखाइएको थियो ।
कार्यक्रममा बोल्दै नायक जय किशन बस्नेतले चलचित्र मनोरञ्जनको खजाना रहेको बताए । उनले भने, ‘धूमलाई दर्शकहरुले अत्याधिक रुचाएपछि ‘धूम २’ निर्माण गरेको हुँ । ‘धूम’को सिक्वेल होइन ‘धूम २’ । मलाई के आश छ भने चलचित्रबाट दर्शकहरुले भरपूर मनोरञ्जन पाउनेछन् । उनले चलचित्र ‘धूम’भन्दा पनि ‘धूम २’ उत्कृष्ट बनेको दावी गरे ।
चलचित्रमा जय किशनको अलावा सृजना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, संजोग राणा, शोभित बस्नेत, उत्तम केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ । एन.बी. महर्जनको द्वन्द्व, टंक बुढाथोकीको सङ्गीत, जीवन श्रेष्ठको छायांकन र तारा थापा किम्मेको सम्पादन रहेको ‘धुम २’ का कार्यकारी निर्माता मदन ताम्राकार हुन् भने विपन खत्री सह–निर्माता रहेका छन् ।
चलचित्रलाई शुभकामना दिन उपस्थित भएका जय किशनका दाई तथा निर्देशक शोभित बस्नेतले आफूले सुटिङ सेटमा दुःख दिएका कारण ‘धूम २’ राम्रो बनेको बताए । चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चलचित्रका कलाकारहरुले आ–आफ्ना अनुभव सुनाएका थिए ।
यस्तो छ ट्रेलर:-






