काठमाडौं
श्रावण ३ ।
प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा मिस लिटिल आइडल २०१७ को खोजी सुरु गरिएको छ । आयोजकले राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी सम्बन्धित विद्यालय, अभिभावक एवम् विद्यार्थीलाई आवेदन फारमका लागि आवहन गरेको हो । प्रतियोगीतामा निजी तथा सरकारी विद्यालयमा अध्ययनरत देशभरका आठदेखी १३ वर्ष उमेर समुहका बालिका सहभागी हुन पाउने बताइएको छ ।
२०७२ साल वैशाखको विनाशकारी भूकम्प र त्यसको पीडा कम हुन नपाउँदै भोग्नु परेको नाकाबन्दीले बालबालिकाको नियमित अध्ययनमा पारेको नकारात्मक प्रभाव हटाउन, गुणस्तरीय अध्ययनका साथै उनीहरुलाई सिर्जनात्मक काममा प्रेरित गर्न प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले गतवर्षदेखी संयुक्त रुपमा यो प्रतियोगीता आयोजना गर्न थालेको हो ।
प्रतियोगीतामा सहभागी विद्यार्थीको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि, लुकेको प्रतिभा प्रस्फुटन एवम् अतिरिक्त क्रियाकलापमा सुधारलगायत धेरै कुरा प्रभावकारी भएकाले मिस लिटिल आइडललाई निरन्तरता दिइएको प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । ‘प्रतियोगीतामा एक्सन इन्टरटेनमेन्टको अनुभव र शिक्षा क्षेत्रमा क्रियासिल प्याब्सन काठमाडौंको सहकार्यबाट यो प्रतियोगीता प्रतिभावान् बालिकाका लागि साँच्चिकै राम्रो प्लेटफर्म बनेको छ’, प्याब्सन काठमाडौंका अध्यक्ष श्रेष्ठले भने । सन् २००९ देखी वार्षिक रुपमा यो प्रतियोगीता आयोजना गर्दै आएको एक्सन इन्टरटेनमेन्टसँग गतवर्षदेखी प्याब्सन काठमाडौंले सहकार्य सुरु गरेको हो ।
प्रतियोगीताका शिर्ष उपाधि विजेतालाई नगद पुरस्कार एवं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एकवर्षको छात्रवृति, फस्ट रनरअप एवं सकेन्ड रनरअपलाई नगद पुरस्कार एवम् ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एक वर्षको ५० प्रतिसत छात्रवृति प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंकी सहसचिव एवम् मिस लिटिल आइडल २०१७ की संयोजक रिता राई (दाहाल)ले प्रतियोगीता उपलब्धीमुलक एवम् सहभागीहरुमा सकारात्मक परिर्वर्तन देखिएकाले निरन्तरता दिइएको बताइन । ‘अहिलेका विद्यार्थी कितावमा मात्र सिमित भएर हुँदैन । कोर्षमा नभएका तर समयअनुसार आवश्यक क्षमता अभिवृद्धिका लागि यस्तो प्रतियोगीता आवश्यक छ’, संयोजक राईले भनिन् । सो अवसरमा कोरियोग्राफर रोजिन शाक्यले प्याब्सनजस्तो गरिमामय शैक्षिक संस्थाको आयोजनामा हुने प्रतियोगीतामा कोरियाग्राफी गर्न पाउनु आफ्नो लागि गौरवसँगै चुनौती पनि रहेको बताए ।
वालिकामा निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी भुमिका निर्वाह, गुणस्तरीय अध्ययन एवं सिर्जनात्मक कार्यमा लाग्न प्रतियोगीताले प्रेरित गर्ने आयोजकको भनाई छ । मिस लिटिल आइडलको यो आठौ संस्करण हो । प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा आगामी भदौं १० गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने छ ।






