काठमाडौं,
आषाढ ३० ।
आजबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले सुखद ओपनिङ गरेको छ । काठमाडौंमा चलचित्रको वितरणको जिम्मा लिएका वितरक गोपाल कायस्थले भने–‘यो बम्पर ओपनिङ हो । गोपिकृष्णमा कृष्णमा लागेको चलचित्र २ बजेको शोबाट गोपीका सारिएको छ । हिन्दी चलचित्र ‘जग्गा जासुस’लाई नेपाली चलचित्रले विस्थापित गरेको छ । मल्टिप्लेक्स र सिंगल दुबैमा चलचित्रको ओपनिङ बम्पर हो ।’ उनका अनुसार, अष्टनारायण हलमा पनि चलचित्र २ वटा पर्दामा चलिरहेको छ । काठमाडौंका मल्टिप्लेक्सले दिएका शो सबै हाउसफूल छ ।
काठमाडौंको क्यूफक्समा चलचित्रको मर्निङ शोमा ८० प्रतिशतको अकुपेन्सी रहेको छ । ‘कुमारी, जय नेपाल, सिभिल र लबिममा ८० प्रतिशत अकुपेन्सी छ । चलचित्र मल्टिप्लेक्समा पनि राम्रो चल्ने देखिएको छ’, कुमारी हलका म्यानेजर बिनोद पौडेलले बताए ।
यस्तै, काठमाडौं बाहिर पनि चलचित्रले बम्पर ओपनिङ गरेको वितरक मनोज राठीले बताए । उनले भने–‘पोखरामा १२ बजेको शोमा डेढ लाख, वुटवलमा १ लाख र चितवनको जलमा हलमा पनि व्यापार राम्रो छ ।’
दर्शकले चलचित्रको बिषयमा सुखद प्रतिक्रिया दिएकाले आइतबार काठमाण्डौ बाहिर थुप्रै हल बढ्ने वितरक राठी बताउँछन् । निर्माता तथा निर्देशक सुदर्शन थापाले भने–‘शुक्रबारको व्यापारबाट अत्यन्तै उत्साहित छु । चलचित्र लामो समयसम्म चल्छ भन्ने लागेको छ ।’
नायिका पूजा शर्माले पनि जय नेपाल, अष्टनारायण लगायतका हलमा पुगेर दर्शकसँग बसेर चलचित्र हेरिन् । उनले दर्शकले दिएको मायाले अत्यन्तै उत्साहित भएको बताइन् ।






