विद्यार्थीका कला प्रदर्शनी

काठमाडौं,
आषाढ २९ ।

युनिभर्सल कलेजका दुई दर्जन बढी कलाका विद्यार्थीका कला प्रदर्शनी बुधबारबाट रसियन सेन्टर अफ साइन्स एण्ड कल्चरमा सुरु भएको छ । नेपाल रसिया आर्ट क्लब, युनिभर्सल कलेज मैतिदेवी र रसियन सेन्टर अफ साइन्स एण्ड कल्चरको आयोजनामा भएको सो प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले एक समारोहकाबीच गर्नुभयो ।
प्रदर्शनी राखिएका कला असाध्यै राम्रो लागेको बताउँदै कुलपति उपाध्यायले भन्नुभयो, ‘कला साधनाले मानिसलाई समृद्ध बनाउन सहयोग गर्छ । प्रदर्शनीमा राखिएका कलाले आगामी पुस्तामा आजको प्रतिबिम्बलाई प्रस्तुत गर्ने तागत राख्ने भएकाले कलाकारले मिहिनेत र सङ्घर्ष गर्दै गएमा सफल हुन सकिन्छ । भोलिका दिनमा सहभागी कलाका विद्यार्थीले नेपाललाई चिनाउने काम गर्न सक्छन् । काम असाध्यै राम्रा र आशा गर्न सकिने खालको रहेको पाए ।’
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा हस्तकला विभाग प्रमुख सुषमा राजभण्डारीले नयाँ पुस्ताका कलाकारले निकै आशा लाग्दो गरी काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कलामा लागेर सफल बन्न सकिन्छ भन्ने उदाहरण युनिभर्सल कलेजका कला विद्यार्थीले दिएका छन् ।’
सेन्टरको भवन कमलपोखरीमा भएको सो प्रदर्शनीमा विद्यार्थीले आशालाग्दो गरी कला बनाएको कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल र रसियाबीचको सम्बन्धलाई कला प्रदर्शनीले जोड्न महत्वपूर्ण भूमिका खेलेको छ । आगामी दिनमा पनि कलेजले रसियन कल्चर सेन्टरसँग मिलेर कला प्रदर्शनी तथा कलाका विविध कार्यक्रम गर्ने छ । साथै यस प्रदर्शनीमा युनिभर्सल कलेजका ट्यालेन्ट विद्यार्थीलाई प्रदर्शनीमा सहभागी गराइएको छ ।’ कार्यक्रममा रसियन कल्चर सेन्टरका ज्योत्सना श्रेष्ठले कला प्रदर्शनीले दुई देशलाई नजिक ल्याउन सघाएको बताउनुभयो ।
रसियन पेन्टर इभान आइभाकोभस्कीको २ सय वर्षजयन्तीको अवसरमा युनिभर्सल कलेजका विद्यार्थीका कला प्रदर्शनीमा राखिएको हो ।
प्रदर्शनीमा सन्जु थापामगर, विनिता खडका, साहरा लामा, सुजन बुढाथोकी, नविन पुन, मिनाक्षी फूयाँल, गीता उप्रेती, प्रविन मगर, प्रविन मैनाली, राहुल लामा, सुशिल तामाङ, आनन्द बर्मा, पुजा मर्हजन, श्रीमिला श्रेष्ठलगायत सहभागी रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार