गणतन्त्रको दस वर्ष

देशमा गणतन्त्र आएको दशक हुन लाग्यो । संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन र दोस्रो संविधानसभाले वि.सं. २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी ग¥यो । संविधान जारी भएपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनसँगै संविधान कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ । गणतन्त्र दिवस मनाइरहँदा नयाँ संविधानअनुसार स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ । जेठ ३१ गते तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन प्रदेश नं. १, २, ५ र ७ मा हुनेछ । पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा आम मतदाताको राम्रै सहभागिता भयो । वि.सं. २०७४ माघ ७ गतेसम्म सङ्घ र प्रदेश संसद्को निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । यसपछि गणतन्त्र संस्थागत भई संविधानसभाले बनाएको संविधान कार्यान्वयन हुनेछ । तत्कालीन नेकपा माओवादीले वि.सं. २०५२ फागुन १ गतेदेखि सुरु गरेको सशस्त्र जनयुद्धका क्रममा संविधानसभाको मागलाई मुख्यरुपमा उठाएको थियो । वि.सं. २०६२ मङ्सिरमा संसदवादी दल र माओवादीबीच १२ बुँदे समझदारी भई अघि बढेको सहकार्यमा देश यहाँसम्म आइपुगेको हो । आन्दोलनपछि पुनःस्थापित संसद्बाटै संविधानसभा र गणतन्त्रको यात्रा सुरु भएको हो । कार्यवाहक राष्ट्राध्यक्ष र देशको कार्यकारी प्रमुखका रुपमा गिरिजाप्रसाद कोइरालाले वि.सं. २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गरे । निर्वाचित संविधानसभाको वि.सं. २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्रपछिको पहिलो राष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारी दुई राष्ट्रपति मुलुकले पाएको छ ।
आम नेपाली जनताको चाहना भनेको देशको शान्ति र समृद्धि थियो र छ । देशमा परिवर्तन त भयो तर हामी परिवर्तनसँगै कहिल्यै बाहिर ननिस्कने दलदलमा त फसेनौ भन्ने कुरा पछिल्ला घटनाक्रमले देखाउन थालेका छन् । जनताको आन्दोलनको चाहना शान्ति र समृद्धि भए पनि आन्दोलनको पर्दापछाडि रहेर आन्दोलन चलाइरहेको शक्तिको उद्देश्य नेपाललाई दीर्घकालीन द्वन्द्वमा धकेल्नु त थिएन कतै ? गम्भीर भएर सोच्ने बेला आएको छ । विकसित एकपछि अर्को घटनाक्रमले हामीलाई त्यस्तो सोच्न बाध्य तुल्याउँदै लगेको छ । घटनाक्रमले त्यस्तो देखाउँदैछ । देशको पछिल्लो घटनाक्रममा छ– तराई मधेस । संविधान संशोधन, सीमाङ्कन, बाह्य हस्तक्षेप । यो दस वर्षमा हाम्रा प्रमुख भनिएका दलहरुले खेलेको भूमिका हेर्दा एउटा स्वाभिमानी नेपाली जो–कसैलाई पनि साँच्चिकै पीडादायी हुन्छ । यो बीचमा भएका घटनाक्रमले नेपाली जनताले देशका लागि बगाएको रगत, गरेको आन्दोलन केका लागि भनेर घोतलिँदा, लेखाजोखा गर्दा उत्साहित हुनुपर्ने कहीँ–कतै देखिँदैन । देशलाई सङ्घीयता र पहिचानका नाममा कतै बन्दी त बनाइँदै छैन ? यो बीचमा सिङ्गो मुलुकमा भद्रगोल, अराजकता र एक–अर्कामा अविश्वास पैदा भएको छ भने परनिर्भरता दिनदिनै बढ्दो छ । हाम्रो गौरवपूर्ण विगतलाई छिन्नभिन्न पारिएको छ । सदियौँदेखि मिलेर बसेको समाजलाई एक–अर्कामा लडाएर क्षतविक्षत पार्ने काम भएको छ । यसमा बाह्य शक्तिका आ–आफ्ना स्वार्थहरु रहेका छन् भने हाम्रा दलका नेतागण त्यसका गोटी बन्न पुगेका छन् ।
देशको वर्तमान कहाँबाट सुरु भयो भन्ने विषयमा जाँदा देशलाई अधोगतितर्फ लैजान, अस्थिरता कायम राखेर आफ्नो स्वार्थ पूरा गर्न यसको बीजारोपण गरिएको थियो, १२ बुँदे दिल्ली सम्झौता । दलहरुको अब देशको सर्वोपरी हितलाई ध्यानमा राख्दै एक ठाउँमा आउनु गणतन्त्रको दस वर्षसम्म हामीले देखेको, भोगेको एकमात्र विकल्प हो । देश रहेमात्र हामी रहन्छौं । राजनीति देशका लागि गरौँ, विदेशीका लागि होइन । राजनीतिक दलहरु राष्ट्रियताको मुद्दामा विभाजित हुन्छन् भने हाम्रो भोलिको दिन कता उन्मुख होला ? पार्टीले हारेर देशले जित्छ भने पश्चाताप गर्न पनि सिक । आफू राम्रो काम नगर्ने अनि गणतन्त्र खतरामा छ भनेर हिँड्दै गर्ने पनि गर्छन् दलहरु । साँच्चिकै गणतन्त्र खतरामा पर्दै गएको छ भने अरु कसैका कारण नभएर दलहरुका कारण नै हो । अब गणतन्त्र खतरामा छ भनेर चुनावी राजनीति गर्ने हैन, बरू यसलाई सबल र जनमुखी बनाउनतिर लाग्ने कि । आम मानिसको चाहना, हामीकहाँ भएका आन्दोलनहरुको चाहना भनेको देशको शान्ति र समृद्धि नै हो । देशलाई चाहिएको सबल र सक्षम व्यवस्था नै हो, चाहे गणतन्त्र होस् या अन्य तन्त्र । देशले गणतन्त्र दिवस मनाइरहँदा देशका सबै नागरिकले यो मेरो देश हो भनेर गर्व गर्न सकून् । एउटा मधेसको मान्छे, पहाडको मान्छे, हिमालको मान्छे या कुनै जातजातिको जोसुकैले पनि भन्न सकोस् कि म नेपाली हुँ, मेरो देश नेपाल हो र मलाई यसैमा गर्व छ । अन्यथा, हामीले गरेको राजनीतिले हामीलाई नै आउँदो पुस्ताले माफ दिने छैन । राजनीतिक पार्टीलाई बाउ–बाजेको पैतृक चिनो, पुख्र्याैली शान वा अंश ठानी प्राणहत्ते गर्नेहरु र अक्सिजनसमेत नआउने गरी सुकिसकेको बोटलाई प्राणवायु आउँछ भनी भ्रामात्मक प्रचार गर्नेहरु र आफ्नो बुद्धिमा नभएर विदेशी स्वार्थमा काम गर्ने नै राजनीतिका विकार तत्वहरु हुन् । गणतन्त्र दिवस मनाइरहँदा सबैलाई चेतना भया ।

यसमा तपाइको मत

अन्य समाचार