ललितपुर,
ज्येष्ठ २६ ।
ललितपुरको थैव, विसङ्खुनारायण, सन्तानेश्वर महादेव र वाडे गाउँको आसपासका रमणीय स्थानमा जेठ २५ बिहिवारमा रामजी नेपाली एक्सन कट भन्दै थिए । प्रसङ्ग थियो किशोरा अर्याल, कमल खत्री र सुशिल अधिकारीको गीत ‘सपना मिठा….’को छायाँकन ।
गायन, सङ्गीत तथा सामाजिक सेवामा आफूलाई ब्यस्त बनाउँदै आएका रामजी नेपालीको निर्देशनमा अनु बर्देवा, अनिल सुनाम, विमल बर्देवा, विनिता बर्देवा, निरञ्जन श्रेष्ठ साथै बाल कलाकार काजल नेपाली र करिना नेपालीलगायतका कलाकारले ‘सपना मिठो…’मा अभिनय गरेका छन् ।

नारायण जिसिको छायाँकन रहेको यो गीतको भिडियोलाई अञ्जान शर्माले सम्पादन गर्दै छन् । देश विदेशका विभिन्न साङ्गीतक कार्यक्रममा पछिल्लो समय सक्रिय रहेका रामजी केही समयको अन्तराल पछि पुनः निर्देशनमा फर्किएका हुन् । उनी रामजी नेपाली फाउण्डेशन मार्फत सामाजिक कार्यमा पनि ब्यस्त रहँदै आएका छन् । ‘गीतको कन्सेप्ट राम्रो लाग्यो हामी सबैले मिहिनेत गरेका छौ, सपना मिठोको राम्रो भिजुअल बनेको छ’, उनले भने । गीतलाई विशेष अवसर पारेर छिट्टै सार्वजनिक गरिने सुशिल अधिकारीले बताए ।






