नक्कली भ्याट बिल बेच्ने फर्ममाथि राजस्वको छापा

काठमाडौं,

ज्येष्ठ १६ ।
राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले वीरगञ्ज आदर्शनगरस्थित एक अडिट फर्ममाथि छापा मारी कागजातहरु बरामद गरेको छ । प्रदीपकुमार बर्माले दर्ता गरेको उक्त व्यक्तिगत अडिट फर्मले करिब २ सय करोड बराबरका नक्कली भ्याटबिलहरु ठूला उद्योगहरुलाई बिक्री गरेको आरोपमा विभागले जेठ १४ गते छापा मारेको थियो । उक्त फर्मबाट कागजातहरु बरामद गरी विभागमा ल्याईएको छ ।
व्यक्तिगत रुपमा लाईसेन्स लिई बर्माले अडिट फर्म खोलेका थिए । उक्त फर्ममा लेखा परीक्षक (अडिटर) हरु सन्तोष श्रीवास्तव, दीपक श्रीवास्तव र राजेश श्रीवास्तव कार्यरत छन् । विभागले छापा मारी कागजातहरु बरामद गरेपनि बर्मा सहित दुई जना लेखा परीक्षकहरु दीपक श्रीवास्तव र राजेश श्रीवास्तव फरार भएका छन् । तर, राजस्वको टोलीले सन्तोष श्रीवास्तव र कर्मचारी राजु बैठालाई भने पक्राउ गरेको छ ।
बर्माको उक्त फर्मले नेपालका ठूला उद्योग र हाईड्रोपावर कम्पनीहरुलाई नक्कली भ्याट बिल बेच्ने गरेको बताईएको छ । ती तिनै जना लेखापरीक्षकहरुले गाउँका सोझा साझा गरीब व्यक्तिहरुलाई प्रलोभनमा पारी कम्पनी खोलिदिने गरेको र ती कम्पनीकै भ्याटबिलहरु ठूल ठूला उद्योगहरुलाई बेच्ने गरेको आरोप लगाईएको छ । यसरी भ्याटबिल बेचे बापत पाँच प्रतिशत कमिशन लिने गरेको बताईन्छ ।
राजस्व अनुसन्धान विभागले के कस्ता उद्योग र हाईड्रोपावर कम्पनीहरुले उक्त नक्कली भ्याटबिलहरु खरिद गरेका छन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । त्यस्ता उद्योगहरुले सामान खरिद नगरी भ्याटबिलहरु मात्रै खरिद गर्ने गरेकाले अर्बौं राजस्व गुमिरहेको विभागका अधिकारीहरुको भनाई छ ।
राजस्वका एक अधिकारीले भने, ‘यो ठूलो आर्थिक अपराध हो । यस विषयमा सुक्ष्म अध्ययन भईरहेको छ । अधिकांश ठूला कम्पनीहरुको संलग्नता बारे अनुसन्धान भईरहेकाले अहिले सबै कुरा बाहिर ल्याउन मिल्दैन ।’
–शुकदेव चापागाईं

यसमा तपाइको मत

अन्य समाचार