दोस्रो ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा हुने

 

काठमाडौं,
ज्येष्ठ १२
दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा हुने भएको छ । यस बारेमा राजधानीमा बिहिबार पत्रकार सम्मेलनगरी आयोजकले अवार्डका उद्धेश्य र योजनाहरू सार्वजनिक गरेको हो । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तारका लागि भन्दै गत वर्ष देखी आयोजना भएको यो अवार्डको दोस्रो संकरण हुन लागेको हो ।
पत्रकार सम्मेललनमा दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डका संयोजक शैलेश पोखरेलले अवार्डका योजना र उद्देश्य साथै गत वर्षको अवार्ड समारोहका बारेमा प्रकाश पारेका थिए भने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले प्रवासमा रहेर अवार्ड आयोजना गर्नु चुनौती पूर्ण भए पनि सबैको साथ र सहयोगका कारण निरन्तर यो अवार्ड आयोजना गर्ने हौसला मिलेको बताएका थिए । अर्को पल्ट अस्ट्रेलियामा गर्न कुरा भइरहेको पनि उनलेजानकारी गराए ।

त्यस्तै अवार्ड ब्यबस्थापक अध्यक्ष मदु श्रेष्ठले गत वर्षको अवार्ड समारोह अत्यन्त सभ्य र भव्य रहेको जानकारी दिँदै यस पटक हुने अवार्डको दोस्रो संस्करणलाई अझ मर्यादित र प्रभावकारी बनाउने तयारी रहेको बताए ।

गत वर्षको खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी भएर फर्केका कलाकार सुनिल थापा र बसुन्धरा भुसालले अवार्ड समारोहको प्रंशसा गर्दै नेपालदेखि कलाकार लगेर अमेरिकामा यति सौहार्दपुर्ण वातावरणमा कलाकारले कुनै गुनासो गर्नुपर्ने सानो ठाउँसम्म नदिई यति उत्कृष्ट कार्यक्रम गर्न सफल भएको भन्दै अवार्ड आयोजक टिमलाई धन्यवाद र बधाई ज्ञापन गरेका थिए ।

नेपाल फिल्म सोसाईटी नेपालका अध्यक्ष अभिनेता कृष्ण मल्लले ग्लोबल नेपाली फिल्म अवार्ड आगामी वर्षहरूमा पनि निरन्तर आयोजना गरिने जानकारी दिँदै तेस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डका लागि विभिन्न देशका रहेका विभिन्न व्यक्तिले चासो देखाएको र अवार्डलाई बिश्वव्यापी बनाउँदै अन्तर्राष्ट्रिय चलचित्र भुगोलमा नेपालीको खुविलाई स्थापित गर्ने आफुहरुको उद्देश्य रहेका बताए ।

त्यस्तै कलाकार, निर्देशक तथा चलचित्र निर्माता सङ्घ अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र सङ्घ अध्यक्ष प्रदिप कुमार उदय, चलचित्र पत्रकार सङ्घ अध्यक्ष सन्दिप सापकोटा, चलचित्र कलाकार सङ्घ अध्यक्ष राम केशर बोगटी, चलचित्र विकास बोर्ड सदस्य तथा पत्रकार अशोक प्यासीलगायतले पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म अवार्ड आयोजना गर्नु नै अत्यन्त महत्त्वपूर्ण रहेको र यसले नेपाली कला प्रवद्धनमा प्रत्यक्ष र फराकीलो टेवा पुग्ने बताए ।

अवार्ड प्रायोजक संस्था शेर्पा ब्रुवरिका अध्यक्ष लाक्पा शेर्पा पनि गत वर्षको सफल अवार्ड सम्पन्नताले यो बर्षपनि आफूहरूले खुसीका साथ प्रायोजकका रूपमा सहकार्य गरेको धारणा राखे । निर्देशक तथा साहित्यकार राजेन्द्र सलभले समन्वय गरेको कार्यक्रममा शेर्पा ब्रुवरिका मेनेजिङ डाइरेक्टर फुर्बा शेर्पा, उध्योग मन्त्रीका प्रेस सल्लाकार प्रदिप चापागार्इ, नृत्य निर्देशक वसन्त श्रेष्ठ, कलाकार पुरन जोशी, नेपाल फिल्म सोसाइटिका कोषाध्यक्ष नारायण प्रधान, जादुगर महादेब तिपाठीलगायतका विभिन्न व्यक्तित्वहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार