आयो तारेभीरको ट्रेलर र गीत

काठमाडौं,
ज्येष्ठ ८ ।
आगामी असार २ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘तारेभीर’को अफिसियल ट्रेलर र गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले ट्रेलर र गीत सार्वजनिक गरेको हो ।

कलाकार प्रेम सुब्बाको कथा तथा निर्देशनमा चलचित्र तयार भएको हो । ‘पत्रपत्रिकामा आएका विभिन्न घटनालाई कथात्मक रुपमा चलचित्रमा प्रस्तुत गरेको छु’, कार्यक्रममा उनले भने । पत्रपत्रिकामा बलात्कार, बम विष्फोटलगायतका विषयले प्राथमिकता पाउन थालेपछि यसै विषयलाई लिएर चलचित्र बनाएको छु अभिनयमा लामो समय बिताएको अनुभवलाई चलचित्र निर्देशनमा प्रयोग गरेको सुब्बाले जानकारी गराए ।

निर्माता डीके देवानले चलचित्रमा आफुले छोटो भूमिकामा अभिनय गरेको जानकारी गराउँदै आफ्नो लगानी खेर नजाने बताए । चलचित्रमा प्रमुख नायिका विष्णु चेम्जोङको बहिनीको भूमिकामा देखिएकी नायिका रेखा फागोले आफ्नो भूमिकामा सशक्त रहेको बताइन् । नायक निर्मल थापाले सामाजिक विषयबस्तुमा चलचित्र बनेकाले पनि दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।

चलचित्र ‘बलिदान’मा निर्देशक प्रेमसँग काम गरिसकेका हाँस्य कलाकार हरिवंश आचार्यले प्रेमको काममा आफु विश्वस्त रहेको बताए । ‘देशको अवस्थालाई चित्रण गर्दै उहाँले चलचित्र बनाउनुभएको छ । चलचित्रले दर्शकको माया पाउनेछ भन्ने कुरामा म ढुक्क छु ।’ हरिवंशले भने ।

नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, डिओ कृष्ण देवान, दीपेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रञ्जित राना, निर्मल थापालगायतका कलाकारको अभिनय रहेको छ ।

रामप्रसाद चौधरीको सम्पादन, गोविन्द राई र दिनेश मांगमुको नृत्य, प्रकाश गुरुङ, सनुप पौडेल र ब्रबिम शर्माको सङ्गीत, जनक गुरुङको एक्सन, प्रेम सुब्बा र कृष्ण आचार्यको पटकथा तथा संवाद र युवराज राईको छायांकन रहेको छ चलचित्रमा ।

https://www.youtube.com/watch?v=YPMl6zJ15kQ

यसमा तपाइको मत

अन्य समाचार