काठमाडौं,
वैशाख २९ ।
राष्ट्रपति विद्या भण्डारी आज बैंकक प्रस्थान गर्नु भएको छ । उहाँ बैंकक हुँदै श्रीलंका जाने कार्यक्रम रहेको छ । बुद्धजयन्तीको अवसरमा श्रीलंकाको क्याण्डीमा आयोजित विशेष सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रममा राष्ट्रपति त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।
सवारी मन्त्रीको रुपमा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी पनि राष्ट्रपति भण्डारीसँगै त्यसतर्फ प्रस्थान गर्नु भएको छ । राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको थियो । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।
बैंककमा रहँदा राष्ट्रपति भण्डारीले स्वर्गीय थाई राजा भूमिबल अब्दुल्यादेजको पार्थिव शरीरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली व्यक्तगर्नु हुने छ । थाई राजा भूमिबलको गत वर्ष असोज २७ गते निधन भएको थियो । उहाँको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ ।
बैंककपछि राष्ट्रपति श्रीलंकाका लागि प्रस्थान गर्नुहुने छ । जहाँ राष्ट्रपति भण्डारीले श्रीलंकाली समकक्षी मैत्रिपाला शिरिसेनासँग भेटवार्ता गर्नुहुने छ । पाँचदिने भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।






