सरदर वर्षकै रुपमा २०७३

२०७३ साल हामीबाट बिदा भएको छ । अर्को नयाँ वर्षमा हामी प्रवेश गरेका छौं । देशको राजनीतिको कुरा गर्ने हो भने सत्ता स्वार्थमा नै केन्द्रित भए प्रमुखदलहरु ०७३मा । अन्योल र अनिश्चय ०७३ नयाँ वर्ष २०७४ लाई हस्तान्तरण गर्दै बिदा भएको छ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि राजनीतिक स्थिरता कायम भई मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्छ भन्ने आमनेपालीको चाहना र इच्छामा तुषारापात भयो ०७३मा । देशले नयाँ संविधान पाएको दुई वर्ष बित्नै लाग्दा पनि आर्थिक विकास र समृद्धि त परै जाओस्, देशमा राजनीतिक स्थायित्वसमेत कायम हुन सकेको छैन । संविधानप्रति असन्तुष्ट पक्षको निरन्तर विरोध कायम नै छ । उनीहरुलाई मनाउन अनेक गरिए पनि त्यसले मूर्तरुप पाउन सकेको छैन । नयाँ संविधान कार्यान्वयन हुने÷नहुने अन्योल कायमै छ । पार्टी र सङ्गठनभन्दा देशलाई माथि राखेर सोच्नुपर्नेमा दलहरुमा त्यस्तो देखिएको छैन । प्रमुख दलहरू मुलुकका समस्या समाधानमा एक ठाउँमा उभिन सकेको देखिँदैन । ०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहे पनि त्यसका लागि अझै सकारात्मक वातावरण बन्न सकेको देखिँदैन । आगामी वैैशाख ३१ गतेलाई तोकिएको स्थानीय तहको निर्वाचन हुनेमा आमजनता सशङ्कित नै भएको देखिन्छ । अर्थात्, अझै ढुक्क हुने कुनै आधार छैन । तराई मधेस केन्द्रित दलहरु कुनै पनि पक्षमा आफ्ना माग सम्बोधन नभएसम्म चुनाव हुन दिँदैनौं भन्दैछन् भने नेपाल कम्युनिष्ट पार्टीले चुनावको सशक्त बहिस्कार गर्ने भनेको छ । यद्यपि निर्वाचन आयोगले आफ्नो तयारी गरिरहेको देखिए पनि स्थानीय निर्वाचान तोकिएकै मितिमा हुनेछ भन्ने कुरामा आमजनता विश्वस्त छैनन् । राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्नुभन्दा राजनीतिक दलहरू झिनामसिना विषयमै अलमलिएको देखिन्छ । समाधानभन्दा समस्याहरू उल्झाउने क्रम जारी रहँदा देशले अबको स्पष्ट दिशा निर्देश गर्न नसकेको भान हुन्छ । देशमा विनाशकारी भूकम्प गएको २ वर्ष पुग्न लाग्दा पनि भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिन नसक्दा प्रभावित अझै पालमुनि जीवन बिताउन बाध्य छन् । राजनीतिक हिसाबले २०७३ साल पनि अघिल्ला वर्षहरुजस्तै अस्थिर वर्षको रुपमा रह्यो ।
२०७३ सालमा लामो समयदेखि लोडसेडिङको मार भोग्दै आएका राजधानीवासीले भने केही राहत महसुस गरे । भदौ २९ गते कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख भएसँगै दैनिक १२ घण्टाभन्दा बढी हुँदै आएको लोडसेडिङ अन्त्य हुँदा नेपालीको दैनिकीमै ठूलो राहत महसुस भयो । मधेसमा आन्दोलनका कारण ५६ जनाको ज्यान जाँदासमेत २०७३ सालमा पनि समाधान निस्कन सकेन । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको क्रियाकलापले ०७३मा सर्वाधिक चर्चा पायो । प्रधानमन्त्रीका भारत र चीन भ्रमण पनि चर्चाको विषय बने । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले ०७३मा कात्तिक १७ देखि १९मा नेपालको औपचारिक भ्रमण गरे । राप्रपा नेपाल र राप्रपाबीचको एकीकरणले पनि राजनीतिक वृत्तमा एक खालको चर्चा पायो । २० वर्षदेखि हुन नसकेको स्थानीय चुनाव वैशाख ३१ मा गर्ने निर्णय सरकारले गरेको छ भने उत्ता आठ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियकको चुनाव पनि यही वर्ष भएको छ । एमालेले फागुन २१ देखि थालेको मेची– महाकाली अभियान पनि चर्चाको विषय बन्यो । काँकडभिट्टाबाट सुरु भएको अभियान फागुन २३ गते सप्तरीमा पुग्दा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोज्दा ५ जनाको ज्यान गयो । २०७३ सालबाटै प्रवेशिका परीक्षा पनि भनिने एसएलसी परीक्षा प्रणालीमा परिवर्तन ल्याइयो ।
कला क्षेत्रका थिन्ले डेन्डुपको दुर्घटनामा परी वैशाख १२ गते ज्यान गयो । राष्ट्रिय गानका सङ्गीतकार अमर गुरुङको निधन जेठ २५ गते भयो । त्यस्तै, ९ गते गायक खेमबहादुर गुरुङको निधन भयो । वरिष्ठ नाट्यकर्मी विष्णुभक्त फुयालको राष्ट्रिय नाचघरमा मञ्चन भइरहेको नाटकमा अभिनय गर्दागर्दै निधन भयो । गायक, एरेन्जर तथा गिटारिष्ट सुनिल बर्देवा, ‘लाजाराम’ नामले परिचित हास्यकलाकार आरपी भट्टराईको निधन भयो । मदन पुरुस्कार पुस्तकालय र मदन गुठीका संस्थापक तथा अध्यक्ष साहित्यकार कमलमणि दीक्षितको पुस १४ गते निधन भयो । मुस्ताङका ३४ औं पूर्वराजा जिग्मे पलवर विष्टलाई ८६ वर्षको उमेरमा र जनजाति आन्दोलनमा अग्रणी गोरेबहादुर खपाङ्गीलाई पनि ०७३मा हामीले गुमायौं ।
०७३मा आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि रह्यो भने महङ्गी २ प्रतिशतभन्दा कममा सीमित भएको छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम र महङ्गी १० प्रतिशत पुगेको थियो । त्यस्तै, नेपाल राष्ट्र बैङ्कका अनुसार २०७३ मा निर्यात पनि बढेको छ । व्यापार घाटा भए पनि अघिल्ला वर्षको तुलनामा निर्यात र रेमिट्यान्स यो वर्ष बढेको छ । त्यसो त ०७२लाई हेर्दा ०७३ साललाई सुखद नै भन्नुपर्ला । तर, ०७३ पनि देशका लागि भए गरेका काम र प्राप्त उपलब्धिहरुलाई हेर्ने हो भने खासै उत्साहजनक र उपलब्धिमूलक भएको मान्ने आधारहरु छैनन् । यद्यपि सरकारले प्रस्तुत गरेको कामको उपलब्धिमा विभिन्न उपलब्धि भएको दाबी गरेको छ तर आम जनताको सरोकार तथा प्रत्यक्ष महसुस गर्न सकिने उपलब्धि हेर्दा यसलाई सरदर वर्षकै रुपमा मात्र लिन सकिन्छ । नयाँ वर्ष विगतका पीडाहरु भुल्दै नयाँ र सुखद् भविष्य निर्माणमा सहयोगी बनोस् ।

यसमा तपाइको मत

अन्य समाचार