अन्यथा भोलिको पुस्ताले हामीलाई धिक्कार्नेछ

नेपाली जनताले देशको शान्ति र समृद्धिका लागि भन्दै पछिल्लो आन्दोलनमा होमिएको पनि एक दशकभन्दा बढी भयो । देशमा परिवर्तन त भयो तर हामी परिवर्तनसँगै कहिल्यै बाहिर निस्कन नसक्ने दलदलमा त फसेनौ भन्ने कुरा पछिल्ला घटनाक्रमले देखाउन थालेका छन् । जनताको आन्दोलनको चाहना शान्ति र समृद्धि भए पनि आन्दोलनको पर्दापछाडि रहेर आन्दोलन चलाइरहेको शक्तिको उद्देश्य नेपाललाई दीर्घकालीन द्वन्द्वमा धकेल्नु रहेको देखिन्छ । अहिले हामी त्यसैको सिकार भएको एकपछि अर्को घटनाक्रमले पुष्टि गर्दै लगेका छन् । अब त धेरै कुरा दिनको घामजस्तै छर्लङ्ग हुँदै गएका छन्, परिवर्तन केका लागि गरिएको थियो भन्ने विषयमा । देशको पछिल्लो घटनाक्रममा छ– तराई मधेस । संविधान संशोधन, सीमाङ्कन, बाह्य हस्तक्षेप । हाम्रा प्रमुख भनिएका दलहरुले खेलेको भूमिका हेर्दा एउटा स्वाभिमानी नेपाली जो–कसैलाई पनि साँच्चिकै पीडादायी हुन्छ । अब यी सबै घटनाक्रमले नेपाली जनताले देशका लागि बगाएको रगत, गरेको आन्दोलन केका लागि भनेर घोतलिँदा, लेखाजोखा गर्दा उत्साहित हुनुपर्ने कहीँ–कतै देखिँदैन ।

 

अहिले देश सङ्घीयता र पहिचानका नाममा बन्दी भएको छ । सिङ्गो मुलुकमा भद्रगोल, अराजकता र एक–अर्कामा अविश्वास पैदा भएको छ भने परनिर्भरता दिनदिनै बढ्दो छ । हाम्रो गौरवपूर्ण विगतलाई छिन्नभिन्न पारिएको छ । सदियौँदेखि मिलेर बसेको समाजलाई एक–अर्कामा लडाएर क्षतविक्षत पार्ने काम भएको छ । यसमा बाह्य शक्तिका आ–आफ्ना स्वार्थहरु रहेका छन् भने हाम्रा दलका नेतागण त्यसका गोटी बन्न पुगेका छन् । स्वाभिमानी नेपालीको नजरमा यिनीहरुको इज्जत एउटा यौनकर्मीको जति पनि अब रहेन । देशको वर्तमान अवस्था कहाँबाट सुरु भयो भन्ने विषयमा जाँदा देशलाई अधोगतितर्फ लैजान, अस्थिरता कायम राखेर आफ्नो स्वार्थ पूरा गर्न यसको बीजारोपण गरिएको थियो, १२ बुँदे दिल्ली सम्झौता । अब ढिला भइसकेको छ । तैपनि अझै समय छ । समयमै बुद्धि पु¥याइएन भने इतिहासले हामीलाई धिक्कार्नेछ । अब व्यक्ति–व्यक्तिले १२ बुँदे गलत थियो भन्नुभन्दा पनि पार्टीहरु नै यो गलत थियो भन्नेमा आउनु जरुरी छ, यदि तिनीहरुमा थोरै भए पनि देशको माया छ भने । अब ढिलो नगरीकन राष्ट्र जटिल अवस्थामा पुगेको स्वीकार्दै नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लगायत जिम्मेवार दलले बाह्रबुँदे समझदारी रद्द भएको औपचारिक घोषणा गर्दै क्षमायाचनाका लागि तयार हुनुपर्छ ।
हामी देशमा ‘सङ्घीयता–सङ्घीयता’ भन्दै हिँडिरहेका छौँ । तर, हामीकहाँ सङ्घीयता सम्भव देखिँदैन । यो देशको आवश्यता पनि होइन र क्षमता पनि छैन । सङ्घीयताले नेपाल र नेपालीको हित कुनै पनि हालतमा गर्दैन । त्यस कारण तत्काल सङ्घीयताबाट फर्किनुपर्छ । नत्र देशले ठूलो क्षति व्यहोर्ने देखिन्छ । सङ्घीयताका बारेमा गलत कुराहरु आमजनतालाई पढाइएको छ । सङ्घात्मक राज्य र समावेशीता एउटै कुरा होइनन्, विपरीत कुरा हुन् ।

 

हाम्रो देशको आवश्यकता भनेको शक्तिको हस्तान्तरण हो । केन्द्रमा रहेको शक्तिलाई गाउँ–गाउँसम्म पु¥याउनु हो । अर्थात्, सरकारको तल्लो निकायसम्म हस्तान्तरण गर्नु हो । गरिब, जनजाति र मधेसीका लागि भनेर जसरी सङ्घीयताको प्रचार गरिएको छ, त्यो गलत हो । सङ्घीयताले देश बन्छ भन्नु गलत हो । सङ्घीय राज्यव्यवस्था हाम्रोजस्तो देशमा सफल हुनै सक्दैन । यो त देशलाई दीर्घकालीन द्वन्द्वमा लैजाने र नेपालको अस्तित्व नै मेटाउनका लागि ल्याइएको देखिन्छ । जनताले के चाहन्छन् भन्ने विषय सबैभन्दा महत्वपूर्ण पाटो हो । राज्यसत्ताका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तबमोजिम सहभागी जनाई भाषिक–साँस्कृतिक पहिचान र विकासका लागि बलियो आयोगमार्फत् समृद्ध गरेपछि पहिचानकै आधारमा प्रदेश किन चाहियो ? कालान्तरमा सबै जातीय पहिचानको राज्य बनाउँदै जाने हो भने देशमा भएका एक सयभन्दा बढी जात–जातिलाई के गर्ने ? आजको २१औँ शदीमा पहिचानवादी दृष्टि साम्प्रदायिक डढेलो लगाई फुटाऊ र हत्याऊको ग्रायन्ड डिजाइन हो । थुङ्गाका कुरा गरौँ, थुङ्गावादी नबनौँ, माला नबन्न सक्छ । पहिचानका कुरा गरौँ, पहिचानवादी नबनौँ, देश नरहन सक्छ । प्रमुख दल, आन्दोलनरत पक्ष मेरो गोरुको बाह्रै टक्का भन्ने विषयलाई छोडेर देशको सर्वोपरी हितलाई ध्यानमा राख्दै एक ठाउँमा आउनु आजको आवश्यकता हो । देश रहेमात्र हामी रहन्छौँ, देश नै रहेन भने कसका लागि राजनीति गरौँला ? बेलैमा सबै दलको घैँटोमा घाम लागोस् । अन्यथा, बाह्र बुँदे सझौताले अहिले पछुताएजस्तै अन्य निर्णयहरुले पछुताउनुबाहेक हामीसँग केही हात लाग्ने छैन । राजनीति देशका लागि गरौँ, विदेशी दलालहरुका लागि होइन ।

 

जनता लुट्ने र देश बेच्ने आयातित व्यवस्थाभन्दा देश बचाउने र जनता हसाउने मौलिक आफ्नै अग्रगमन प्यारो हुन्छ । जुन देशका राजनीतिक दलहरु राष्ट्रियताको मुद्दामा विभाजित हुन्छन्, प्रधानमन्त्री र मन्त्रीहरु एक–आपसमा देशघातीको दोषारोपण गर्छन्, नागरिकहरु कार्यकर्ताको बिल्ला भिरेर जुठो हात सडकमा माथापच्ची गर्छन्, त्यो देश धमिराले खाएको काठजस्तै हो, कतिबेला गल्र्याम्मै ढल्छ भन्ने कुरा कसैलाई थाहै हुँदैन । तिमीले हारेर देशले जित्छ भने हार्न पनि सिक । पार्टीले हारेर देशले जित्छ भने पश्चाताप गर्न पनि सिक । बल राजनीतिक दलहरुको कोटमा छ कि देशलाई रोज कि जातीयता, कि अस्थिरता, कि विकास र समृद्धि ।

यसमा तपाइको मत

अन्य समाचार