यो वर्ष पनि फेरि चर्चामा छ पुस २७ । चर्चामा रहनुको कारण हो– हरेक वर्ष पुस २७ गतेलाई ‘राष्ट्रिय एकता दिवस’को रुपमा मनाइँदै आएकोमा २०६२÷०६३ कोे आन्दोलनपछि गठन भएको सरकारले यो दिवस मनाउन छोड्नु । पृथ्वीनारायण शाहको जन्मदिन तथा पृथ्वीजयन्तीको अवसरमा सरकारीस्तरबाट कुनै औपचारिक कार्यक्रम नभए पनि निजी क्षेत्रको पहलमा भने देशभर विभिन्न कार्यक्रम गरेर उनको योगदानलाई जनस्तरबाट भने सम्झने कार्य भइरहेको छ । विक्रम सम्वत् २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२÷०६३ सालको आन्दोलनपछि सरकारीस्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने आवाज उठे पनि सरकारले भने निर्णय गर्न सकेको छैन ।
राजतन्त्रको अन्त्यसँगै पृथ्वीनारायण शाह र उनले गरेको नेपाल राज्यको एकीकरणको विषयलाई विवादमा ल्याउने काम भयो, खासगरी जातीय स्वशासनसहितका सङ्घीयताको वकालत गर्ने पक्षबाट । पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गरेर जबरजस्तरुपमा विभिन्न जात र क्षेत्रका भाषा, संस्कृति र कलालाई दमन गरेर खस–ब्राह्मण संस्कृति र भाषा लादेको आरोप लगाउँदै उनी नै सामन्ती राजतन्त्रको नाइके भएको चित्रित गर्दै, पृथ्वीनारायण शाहलाई इतिहासको खलनायकको रुपमा प्रस्तुत गर्दै उनका शालिक पनि भत्काउने काम भए । तर, पृथ्वीनारायण शाह इतिहासका यस्ता पात्र हुन्, जसले नेपालका छिन्न–भिन्न अवस्थामा रहेका विभिन्न राज्यहरूलाई एकै ठाउँमा मिसाएर नेपाल राष्ट्रको निर्माण गरेका थिए । उनले इतिहासको त्यस्तो घडी, जुनबेला इष्ट इन्डिया कम्पनीले भारतजस्तो विशाल देशलाई त आफ्नो अधिनमा पारी आफ्नो साम्राज्य फैलाउन सफल भएको थियो, त्यो अवस्थामा टुक्राटुक्रामा विभाजित नेपाललाई एक नेपाल बनाउनका लागि वीजारोपण गरेका थिए । त्यो अवस्थामा यदि पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए सायद नेपाल देशको अस्तित्व नै रहने थिएन । गोर्खाका पहिलो शाह राजा द्रव्य शाहबाट सुरु भई राम शाह, नरभूपाल शाहसम्म आइपुग्दा २७ पुस १७७९ मा पृथ्वीनारायण शाहको जन्म गोर्खामा भएको थियो । उनी विक्रम सम्वत् १८०० बाट नेपाल एकीकरणको अभियानमा जुटेका थिए ।
पृथ्वीनारायण शाहलाई अन्ततः इतिहासले राष्ट्रनिर्माता बनायो । उनले जस्तो अभिप्रायले नेपाल एकीकरण गरे पनि नेपाल र नेपालीका लागि अतुलनीय योगदान दिएका छन् । फलस्वरूप हामी नेपालीहरुले हिमाल, पहाड र तराईसहितको सुन्दर, शान्त नेपाल पाएका छौँ । विशाल नेपाल एकीकरण गर्ने क्रममा थुप्रै वीरवीरङ्गनाहरूले रगत–पसिना बगाएका छन् । अङ्ग्रेजका अत्याधुनिक हतियारको प्रतिकारमा घुयत्रो, धनुष–वाण, तीर, भाला, खुकुरी, तरवार र भरुवा बन्दुकले सामना गरेर सिङ्गो नेपाल दिएर गएका छन् । तर पनि नेपाल एकीकरण गर्ने उद्देश्य र नीति पृथ्वीनारायण शाहकै भएको हुँदा श्रेय उनैलाई जान्छ ।
तथापि, पृथ्वीनारायण शाहको निधनपश्चात् नाबालक गीर्वाणयुद्ध विक्रम शाहको कार्यकालमा पूर्वमा टिष्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको बृहत् नेपालको रक्षार्थ खटिएका कमाण्डर इन चिफ भीमसेन थापा, बडाकाजी अमरसिंह थापा, सानाकाजी अमरसिंह थापा, सरदार भक्ति थापा, काजी बख्ताबरसिंह थापा, जनरल रणवीरसिंह थापा, कर्णेल उजीरसिंह थापा, वीरयोद्धा रणजोरसिंह थापा, केहरसिंह बस्नेत र अभिमानसिंह बस्न्यात, चौतारा बम शाहलगायत थुप्रै वीरवीरङ्गानाहरूको अतुलनीय योगदान रहेको छ । विशाल नेपाललाई नेतृत्वको केही कमीकमजोरीका बाबजुद अङ्ग्रेज–नेपाल युद्धमा आधाजति भाग गुमाउनुपरे पनि बाँकी बचेको नेपाललाई बचाउनु पछिल्लो पुस्ताको कर्तव्य हो । त्यस बेला पृथ्वीनारायण शाहको नेपाल एकीकरण ऐतिहासिक आवश्यकता थियो । त्यो बेलाको परिस्थिति, अवस्थालाई हेर्दा यदि पृथ्वीनारायण शाहले नेपाल एकीकरणको थालनी नगरेको भए नेपाल र नेपालीको अस्तित्व नै रहने थिएन होला ! तात्कालीक परिवेश, उनका नीति, क्रियाकलापले गर्दा पृथ्वीनारायण शाह एउटा राजामात्र नभई राष्ट्रनिर्माता तथा भविष्यद्रष्टा युगपुरुषका रुपमा देखिन्छन् ।
यसरी पूर्वजहरुले बचाएर हामीलाई सुम्पिएको देश अहिले नेतृत्वविहीनजस्तै भएको छ । यसको नेतृत्व गर्नेहरुले बेलाबेलामा यो देशकै नागरिक नभएजस्तो अभिव्यक्ति दिने गर्छन् । कहिले देश चलाउने चाबी अन्तै भएको भन्ने गर्छन् भने कहिले देशै टुक्राउने राष्ट्रघाती अभिव्यक्ति दिने खुलेआम घोषणा गर्छन् । यदि यिनीहरुमा देशभक्ति भएको भए यस्तो बोल्ने थिए होला र ?
संसारका अन्य देशहरुमा राष्ट्रनिर्मातालाई विशेष सम्मान गर्ने गरिन्छ । टर्कीका राष्ट्रनिर्माता मुस्ताफा केमल, इजिप्टका शाद जागलउल, लिबियाका राजा इद्रिश अल सादुसी, युएईका राजा शेइख जायदलगायतलाई राष्ट्रले उच्च सम्मान गर्ने गर्छ । त्यस्तै, भारतमा मोहनदास कर्मचन्द गान्धी (महात्मा गान्धी), पाकिस्तानमा मोहमद अली जिन्हा, बङ्लादेशमा बङबन्धु शेख मुजिबुर रहमान र अमेरिकामा जर्ज वासिङ्टनजस्ता केही उदाहरणमात्र हुन् । अन्य धेरै राष्ट्रहरुमा आफ्ना राष्ट्रनिर्मातालाई राष्ट्रपिताको दर्जा दिँदै उच्च सम्मानका साथ सम्झना गरिन्छ । राजतन्त्र, गणतन्त्र तथा भविष्यमा अन्य कुनै नयाँ खालको तन्त्र आए पनि हामीले हाम्रो इतिहासलाई कहिल्यै बिर्सनु हुँदैन ।
हामी यहाँसम्म आइपुगेको हाम्रो बाटो र हामीलाई वर्तमान स्थितिमा उभ्याइदिएका हाम्रा राष्ट्रनिर्मातालाई पनि हामीले राष्ट्रियस्तरबाटै उच्च सम्मानका साथ सम्झनुपर्दछ । हामी नेपालीको विडम्बना भन्नुपर्छ, जसले नेपाली भएर बाँच्ने हामी सबै नेपालीहरुलाई गुण लगाएर गए आज तिनै राष्ट्रनिर्मातालाई सम्झिन पनि अनकनाउँछौँ । यो दिनमा बिदामा मात्र होइन, राष्ट्रिय एकता दिवसको घोषणा गरियोस् ।



