‘छक्कापञ्जा’ले मनायो प्रर्दशनको १०० औँ दिन

काठमाडौं ।
नेपाली चलचित्रले राम्रो व्यवसाय नगरिएको पछिल्लो समयमा चलचित्र ‘छक्कापञ्जा’ले भने १०० औँ दिन पार गरेको छ । चलचित्रले १०० औँ दिन पार गरेको उपलक्ष्यमा ललितपुरको श्रीकाली चौरमा चलचित्रकर्मी, कलाकार सञ्चारकर्मी र शुभचिन्तकसँग वृहत बनभोज कार्यक्रमको आयोजना गरेको छ ।
चलचित्र ‘छक्कापञ्जा’मा रहेको ‘हेर न चम्पा’ गीतको छायाँकन भएको स्थान श्रीकाली चौरमा नै गौरवमय १०० दिनको सफलता एवम् वृहत बनभोज कार्यक्रम गरेको हो । जहाँ सहभागी सम्पुर्णले चलचित्रको टिमलाई शुभेच्छा प्रदान गरेका थिए । आयोजना गरिएको कार्यक्रममा चलचित्र ‘छक्कापञ्जा’ टिमले चलचित्रका कलाकार, संगीतकार, प्राविधिकलाई मायाको चिनो र सिनेमा हल सञ्चालक, चलचित्र वितरक र चलचित्र पत्रकारहरुलाई कदरपत्र प्रदान गरेको छ । साथै चलचित्र प्राविधिकहरुलाई उनीहरुको कामको सम्मान स्वरुप बोनस पनि प्रदान गरिएको थियो ।
बनभोजमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, करिश्मा मानन्धर, दिलिप रायमाझी, निश्चल बस्नेत, पूजा शर्मालगायतका कलाकारले सहभागिता जनाएका थिए । दीपाश्री निरौला निर्देशीत चलचित्र ‘छक्कापञ्जा’ गत भाद्र २४ बाट सिनेमाघरहरुमा आएको थियो । यो चलचित्रले २१ वटा सिनेमाघरमा ५१ दिन र उपत्यकाका चार हल (गुण, गंगा, गोपी र बिग मुभिज )मा सय दिन पुरा गरेको छ । चलचित्र ‘छक्कापञ्जा’मा दीपकराज गिरी, प्रियङ्का कार्की, शिवहरी पौडेल, आर्यन सिग्देल, बर्षा राउत, केदार घिमिरे, जितु नेपाल, उत्तम केसी, किरण के.सी, अरुणा कार्की, बुद्धि तामाङ् लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार