स्तरीय चलचित्रको पक्षमा निर्देशक लोकनाथ गौतम

महङ्गो भन्दा पनि स्तरीय चलचित्र बन्नुपर्छ भन्ने मान्यताका निर्देशक हुन्– लोकनाथ गौतम । उनको निर्देशनमा बन्न लागेको पछिल्लो चलचित्रमा महँगो धनराशि खर्च हुने उनले बताए । तर, चलचित्रको नाम भने अहिलेसम्म खुलासा गरेका छैनन् । चलचित्रमा अत्याधिक भी.एफ.एक्स.को काम भएको हुँदा नयाँ प्रविधिसँगै प्राविधिक पनि भारतबाटै ल्याउनुपर्ने तर्क निर्देशक लोकनाथ गौतमको छ । नेपालमा पहिलोचोटी यति धेरै रकममा चलचित्र बन्न लागेको र यो चलचित्र झन्डै दस करोडको बजेटमा तयार हुने निर्देशक गौतमले बताए । ठूलो बजेटमा चलचित्र बनाउँदा जोखिम बढी हुने कुरा बुझेका निर्देशक गौतम भन्छन्, ‘समय सँगसँगै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन पनि उच्च प्राविधिक र उत्कृष्ट मेकिङ आवश्यक पर्ने हुँदा लागत बढ्नु स्वाभाविक हो ।’

नेपाली चलचित्र पनि गुणस्तरीय बन्नुपर्छ र राम्रो चलचित्रले दर्शक पनि राम्रै पाउँछन् भन्ने बुझेका निर्देशक लोकनाथ गौतमले आफ्नो चलचित्रलाई विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदायमाझ पु¥याउने मनस्थिति बनाएका छन् । थोरै चलचित्र बनाएर धेरै चर्चा बटुल्न सफल निर्देशक गौतमको कार्य क्षमताले नै उनलाई उच्च स्थानमा पु¥याएको छ । गौतमले निर्देशन गरेका ‘रोमान्स’ र ‘लभ इज लाईफ’ ले विभिन्न अवार्ड पाएका थिए । विगत एक दशकदेखि निरन्तर कला क्षेत्रमा सक्रिय रहँदै आएका निर्देशक लोकनाथ गौतमलाई सिने नगरीमा एल.एन. गौतमको नामले पनि चिनिन्छ । विभिन्न सङ्घ, संस्थामा आवद्ध गौतम शुभकामना म्युजिक कम्पनीका प्रबन्धक निर्देशकसमेत हुन् ।

‘रोमान्स’ र ‘लभ इज लाईफ’ निर्देशन गरेर चर्चामा आएका गौतम यतिबेला अर्को चलचित्र निर्माणमा जुटेका छन् । दुई वर्षको अध्ययनपश्चात् हालैमात्र आफ्नो चलचित्रको स्क्रिप्ट तयार भएको कुरा निर्देशक गौतमले जानकारी गराएका छन् । चलचित्रको स्क्रिप्ट गहन र फरक विषय भएका कारण निर्देशक गौतम यतिबेला पात्र चयन र लोकेशनका लागि दौडधुप गरिरहेका छन् । दुई वर्ष लगाएर तयार पारेको स्क्रिप्टले नेपाली चलचित्रजगत्मा सिने दर्शकका लागि नौलो खुराक प्रमाणित हुने कुरामा उनी विश्वस्त छन् ।

यसमा तपाइको मत

अन्य समाचार